सम्झौता पत्रमा हस्ताक्षर पश्चात सामुहिक फोटो खिचाउँदै ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ मा निर्माण भएको चित्लाङ भ्यू टावर सञ्चालन तथा व्यवस्थापनका लागि सम्झौता भएको छ । बागमती प्रदेश सरकारले निर्माण गरेको उक्त भ्यू टावर सञ्चालनका लागि संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश र थाहा नगरपालिकाबीच २४ मंसिरमा सम्झौता भएको हो । भ्यु टावर सञ्चालन तथा व्यवस्थापनका लागि भएको सम्झौतामा मन्त्रालयको तर्फबाट पर्यटन विकास आयोजनाका निमित्त प्रमुख रोशन कुमार श्रीवास्तव र नगरपालिकाको तर्फबाट नगर प्रमुख विष्णु बहादुर विष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार थाहा नगरपालिकाले उक्त भ्यू टावर सञ्चालन, उपयोग तथा व्यवस्थापनका लागि आफै वा अन्य संघसंस्था वा समितिलाई ठेक्कामा लगाउन सक्ने व्यवस्था छ । यसरी सञ्चालन गरिएको टावरबाट भएको आम्दानीको ३० प्रतिशत रकम बागमती प्रदेश सरकारका राजश्व खातामा अर्धवार्षिक रुपमा जम्मा गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । आम्दानीको ७० प्रतिशत रकम भने थाहा नगरपालिकाको हुने सम्झौता भएको छ । १० बुँदे उक्त सम्झौतामा पर्यटन प्रवद्र्धन बाहेकको उद्देश्यमा सो संरचना प्रयोग गर्न पाइने स्पष्ट पारिएको छ ।

चित्लाङ भ्यु टावर (हिल स्टेशन) । फोटोः पालिका प्रेस

चित्लाङ भ्यू टावरको मर्मतसंभार गर्नुपर्ने अवस्था भएमा थाहा नगरपालिका समेतको प्राविधिको सहभागितामा तयार गरिएको लागत अनुमान बमोजिम एक पटकका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयबाट गराउने उल्लेख सम्झौता छ । यस किसिमको मर्मतसंभार सम्बन्धी काम भने मन्त्रालयले हस्तान्तरण भएपश्चात् मात्र गर्ने उल्लेख छ ।
चित्लाङ भ्यूटावर अब छिट्टै नै उद्घाटन गरी संचालनमा ल्याउने तयारी भएको पर्यटन विकास आयोजना प्रमुख श्रीवास्तवले जानकारी दिए । कार्यक्रममा बोल्दै संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भ्युटावर संचालनमा आएपछि थाहानगरको पर्यटकीय आकर्षण थप सुदृढ हुने विश्वास व्यक्त गर्दै स्थानीय पर्यटन प्रवद्र्धनमा यसको महत्वपूर्ण भूमिका रहने बताए । उनले प्रदेश सरकारले थाहा नगरपालिका क्षेत्रका अन्य पर्यटन सम्भावनाहरूमा समेत काम अघि बढाउने स्पष्ट गरे ।

प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ (२०७६/२०७८) अन्तर्गत भ्युटावर निर्माणको काम अघि बढाएको थियो । उक्त परियोजनामा भ्युटावरसँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ । परियोजनाको लागत दुई चरणमा मूल्य समायोजनसहित कुल पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ पुगेको छ । यससँगै प्रदेश सरकारले २०७६ सालदेखि हालसम्म १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरिसकेको छ । यी भ्युटावरहरू निर्माणमा प्रदेश सरकारले ३२ करोड ८४ लाख तीन हजार तीन सय ३९ रुपैयाँ खर्च गरेको छ।

पालिका प्रेस
थप जानकारी