मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने विभिन्न रैथाने बालीहरूको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।गाउँपालिकाको आर्थिक विकास समितिले चालु आर्थिक वर्ष २०८२–८३ का लागि कृषि उपजहरूको नयाँ मूल्य तोक्ने निर्णय गरेको हो ।नयाँ दररेट अनुसार कोदो र धानको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६० रुपैयाँ कायम गरिएको छ ।
यस्तै, फापर प्रजातितर्फ तिते फापरको मूल्य ९० रुपैयाँ र मिठे फापरको मूल्य १ सय ५ रुपैयाँ निर्धारण गरिएको हो । गाउँपालिकाले जुनेलोको समर्थन मूल्य प्रतिकेजी ८४ रुपैयाँ तोकेको छ भने सेतो सिमिको मूल्य १ सय २० रुपैयाँ कायम गरेको कृषि शाखाले जनाएको छ ।
यसैगरी, कालो सिमिको मूल्य भने प्रतिकेजी १ सय ३० रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।पालिकाले यस पटक पनि विगतको वर्षमा जस्तै कृषक, कृषक समूह र सहकारी संस्थाहरू मार्फत रैधाने वाली खरिदबिक्री गरी सोझै किसानलाई अनुदान बापतको रकम प्रदान गरिने जनाएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा कृषि विकास कार्यक्रमअन्तर्गत रैथाने बाली खरिद–बिक्री अनुदान कार्यक्रम सहकारीमार्फत कार्यान्वयनमा ल्याएको थियो । पालिकामा गतवर्ष करिब १८० क्विन्टल रैथानेले बाली उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादन वृद्धि हुने अपेक्षा पालिकाको छ ।
प्रायः पालिकाको सबै वडामा रैथाने बाली खेती हुने भएपनी वडा नम्बर १, २, ४, ७ र ८ कोदो पकेट क्षेत्र मानिन्छ । वडा नम्बर ६ र ८ लाई फापरको पकेट क्षेत्रका रूपमा रहेको छ । करिब ५ सय घरधुरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पालिकाको रैथाने बाली प्रवद्र्धन कार्यक्रमबाट लाभान्वित छन् भने करिब ६ सय हेक्टरमा खेती हुने गरेको गाउँपालिकाले जनाएको छ । यहाँका सामुदायिक विद्यालयहरूको दिवा खाजामा रैथाने परिकार बनाइने गरिन्छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्