हेटौंडा उपमहानगरपालिका भित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा सुरक्षालाई तीव्र बनाउँदै सडक डिभिजन कार्यालय हेटौंडाले २५–२५ गज भित्रका ५ सय ३१ संरचना हटाउने प्रक्रिया अघि बढाएको छ । डिभिजनले १४ मंसिरमा पत्रकार सम्मेलन गरेर रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म पर्ने दायाँ–बायाँ कुल ९.५ किलोमिटर क्षेत्रमा रहेका स्थायी–अस्थायी संरचना भत्काउने जनाएको हो। यसअघि ५ मंसिरमा जारी सार्वजनिक सूचनाले १५ दिनभित्र अतिक्रमण हटाउन निर्देशन दिएको थियो।
डिभिजनका प्रमुख इन्जिनियर गुरु प्रसाद अधिकारीका अनुसार विगतमा दायर भएका सबै रिट सर्वोच्च अदालतबाट खारेज भइसकेका छन्।अदालतले राजमार्ग व्यवस्था ऐन, २०२१ अनुसार घोषित सडक सीमाभित्र (केन्द्रबाट २५/२५ गज) पर्ने जग्गामा क्षतिपूर्ति वा मुआब्जा दिने कानुनी आधार नहुने स्पष्ट पारेको छ । फैसालामा सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचनाले कुनै हक दाबी सिर्जना नगर्ने र अतिक्रमण हटाउँदा संविधानले प्रदत्त सम्पत्ति तथा आवास अधिकार उल्लंघन नहुने उल्लेख छ । हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका लागि २०७३, २०७६, २०८० र २०८२ मा चार पटक सूचना जारी भए पनि स्थानीय विरोध तथा अदालतबाट आएका स्टे आदेशका कारण काम रोकिँदै आएको थियो। २०७३ यतादेखि मात्र ३ सय ४३ मुद्दा दायर भएको डिभिजनले जनाएको छ ।

अन्ततः सर्वोच्च र उच्च अदालत पाटनका फैसलाले मार्ग खोलिदिएपछि डिभिजनले १९ मंसिरलाई ‘अन्तिम समय सीमा’ घोषणा गरेको हो। २० मंसिरदेखि मुख्य बजार क्षेत्रमा सवारी साधन आवागमन बन्द गरी भारी उपकरण परिचालन गरेर विस्तार कार्य सुरु गरिने तयारी कार्यालयले गरेको छ । डिभिजनले केन्द्र रेखादेखि दायाँ २ सय ३४ र बायाँ २ सय ९७ गरी ५ सय ३१ संरचना हटाउनुपर्ने बताएको छ।
रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म ६.३ किमी र बुद्धचोकदेखि सामरी पुलसम्म ३.२ किमी गरी कुल ९.५ किमी सडक चौडा गरिनेछ ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्