मकवानपुरको कैलाश गाउँपालिका–९ स्थित नामटारमा ब्यूटीपार्लर सञ्चालनमा आएको छ । शारीरिक अपाङ्गता भएका दुईजनाले सञ्चालनमा ल्याएको ब्यूटीपार्लरको २ भाद्रमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घाटन गरेका हुन् । शारीरिक अपाङ्गता भएका कैलाश ६ की अञ्जु परियार र कैलाश ५ की सरितामाया थिङले एक गैरसरकारी संस्थाको सहयोगमा पार्लर सुरु गरेका हुन् ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको सुन्दरढोका साथीसेवा संस्थाको सहयोगमा तालिम प्रदान पश्चात संस्थाकै लगानीमा पार्लर सञ्चालनमा आएको हो । पार्लर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले शहरजस्तो ग्रामीण भेगमा ब्यूटीपार्लरमा श्रृंगार गर्न जानेको संख्या कम हुने भन्दै आफ्नो सीपलाई निर्खार्दै सेवा प्रदान गरे भविष्यमा सफल हुने बताए । ईच्छाशक्ति भएकाको पहिचान गरेर स्वरोजगार बन्नको लागि गाउँपालिकाले विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष मुक्तानले बताए । गाउँपालिकाले पनि कम्प्युटर, सिलाई, ह्याण्डीक्राफ्ट, विभिन्न परिकारको तालिम प्रदान गरिनुका साथै आगामी वर्ष पनि लक्षित वर्ग र क्षेत्रलाई तालिम कार्यक्रमको योजना रहेको उनले बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले यहाँहरु फरक क्षमताको हुनुहुन्छ, परिवार र समाजकै बोझ हुन अपाङ्गता भएका मान्छे भन्ने बुझाई भएको भन्दै त्यसलाई चिर्दै सीप सिकेर सेवा प्रदान गर्नसम्म पुग्नुभएकोमा हार्दिकता व्यक्त गरे । कार्यक्रममा सुन्दरढोका साथीसेवाका कार्यकारी निर्देशक विजेता अधिकारीले अञ्जु र सरिताले काठमाडौंमा ६ महिनाको एडभान्स कोर्स पूरा गरेको बताईन् । ६ महिने तालिम पश्चात संस्थाले २ लाख ५० हजार लगानी गरी पार्लर सञ्चालन गरिदिएको निर्देशक अधिकारीले बताइन् ।

पालिका प्रेस
थप जानकारी