कांग्रेस प्रदेश संसदीय दलको नेता पदमा हारे पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिइरहेका मुख्यमन्त्री लामालाई १५ साउन बेलुका आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर पार्टी सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि उनी पदबाट हट्न तयार भएका हुन्। तर यसका लागि मुख्यमन्त्री लामाले सभापति देउवासमक्ष केही सर्त राखेका छन्। आफूले बुधबार मात्र नियुक्ति गरेका तीन मन्त्रीलाई नयाँ बन्ने प्रदेश सरकारमा लानुपर्ने माग उनले देउवासँग गरेका हुन्।
यसपछि सभापति देउवाले कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई निर्देशन दिएको छलफलमा सहभागी एक सांसदले बताए । यस विषयमा १७ साउन बिहान देउवाले बुढानीलकण्ठमा मुख्यमन्त्री लामा, सांसद चित्रकारलगायतका सांसदसहित बानियाँसँग छलफल गरेका थिए। त्यस क्रममा लामाले राखेका माग पूरा गर्न बानियाँ सहमत भएको छलफलमा सहभागी सांसदको दाबी छ।
सहमतिअनुसार १४ साउनमा नियुक्त लामा समूहका मन्त्रीहरू गोविन्द लम्साल, गीता गुरङ र माया श्रेष्ठलाई अब बन्ने बानियाँ नेतृत्वको क्याबिनेटमा लगिनेछ। बागमती प्रदेशसभामा कांग्रेसबाट ३७ सांसद छन्। जसमध्ये गत ९ साउनमा २१ सांसदले मुख्यमन्त्री रहेका तत्कालीन दलका नेता लामाविरुद्ध संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि नयाँ दल नेता चयन गर्न गत १४ साउनमा चुनाव हुँदा बानियाँ विजयी भए भने मुख्यमन्त्री लामा हारे।
यसपछि मुख्यमन्त्री लामालाई पद छाड्न आफ्नै दलबाट चर्को दबाब आयो। यही क्रममा पार्टी सभापति देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएका हुन्। अब उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बागमती प्रदेश सरकार ढल्नेछ । सोपश्चात् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुनेछन्। यसपछि अन्य मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। बागमतीमा हाल कांग्रेस र एमाले गठबन्धनको सरकार छ । केन्द्रीय सहमतिअनुसार बागमतीमा कांग्रेस र एमालेले २०÷२० महिना सरकार चलाउने कुरा छ।
यसअघि कांग्रेसका तर्फबाट लामा १२ महिना मुख्यमन्त्री भइसकेका छन्। सहमतिअनुसार अब कांग्रेसबाटै मुख्यमन्त्री बन्न लागेका बानियाँले ८ महिना मात्र प्रदेश सरकारको नेतृत्व गर्न पाउने छन्। यसपछि मुख्यमन्त्री पद एमालेले पाउनेछ।















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्