मकवानपुरको पर्यटकीय नगर, थाहा नगरपालिकाको विभिन्न क्षेत्रमा ‘सरसफाई क्याम्पियन’ नै संचालन हुन थालेको छ । थाहा नगरपालिकाको विभिन्न धार्मिक स्थल तथा सामुदायिक क्षेत्रहरुमा सरसफाई अभियान संचालन हुन थालेको हो । कतिपय स्थानमा संघसंस्थाको आव्हानमा त कतिपय स्थानहरुमा स्वतःस्फूर्त रुपमा सडक, बाटो, मठमन्दिर तथा सार्वजनिक स्थलहरुमा सरसफाई अभियान संचालन भएको हो ।
सरसफाई कार्यक्रम अन्तर्गत १६ साउनमा प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङ्छुप जाने बाटोको सरसफाई भएको छ । थाहा–३ स्थित पालुङ बहुमुखी क्याम्पस तथा जनकल्याण माविका शिक्षकहरुले ऋषेश्वरसम्म पुग्ने बाटो तथा मन्दिर परिसर सरसफाई गरेका हुन् । सरसफाई कार्यक्रममा जनकल्यण मावि व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तान, प्रधानाध्यापक रामकुमार बल तथा शिक्षकहरु, पालुङ क्म्याम्सबाट क्याम्पस प्रमुख राजन मिश्र तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो । सो अवसरमा पुजा तथा स्नानका लागि मन्दिरसम्म हिँड्दै गरेका भक्तजनहरुले समेत सरसफाई कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त सरसफाई अभियानमा ऋषेश्वर/छ्युमिग झ्याङ्छुप क्षेत्र विकास समितिका अध्यक्ष बिनोद कुमार लामाको पनि उपस्थिती रहेको थियो ।

१६ साउनमै थाहा, लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगरको संयुक्त आयोजनामा थाहा नगरपालिका–२ स्थित पाण्डुकेश्वर महादेव मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको छ । लायन वर्ष २०२६/२७ को पहिलो कार्यक्रमअन्तर्गत मन्दिर सरसफाइ तथा डस्टबिन वितरण गरिएको लायन्स क्लब अफ थाहा पिस वर्ष २०२६/२७ की सचिव लायन नविना बिष्टले बताइन् । कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले मन्दिर क्षेत्रको सरसफाइमा सामुदायिक सहभागिताले धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए । कार्यक्रममा लायन्स क्लब अफ थाहा पिसका संस्थापक अध्यक्ष लायन सुरेन्द्रमान प्रधान, लायन वर्ष २०२२/२३ का अध्यक्ष लायन जयराम खत्री, लियो क्लब अफ पिस थाहानगर वर्ष २०२६/२७ की अध्यक्ष लियो स्मिता बिष्ट तथा पूर्व अध्यक्षहरू लियो निशा बिष्ट र लियो रोशनी गोपालीलगायत लायन्स र लियो क्लबका वर्ष २०२६/२७ का पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, कोषाध्यक्ष रामप्रसाद ढकाल र सचिव दिवकर कार्कीको समेत कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि गोपालीले मन्दिर क्षेत्र विकास समितिका पदाधिकारीहरूलाई डस्टबिन तथा सरसफाइ सामग्री हस्तान्तरण गरे । कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ थाहा पिस वर्ष २०२६/२७ की सचिव लायन नविना बिष्टले गरिन् । लायन्स र लियो क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत धार्मिक स्थलको संरक्षण, स्वच्छ वातावरण निर्माण तथा समुदायमा सरसफाइसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।

थाहा नगरपालिका वडा नम्बर १० स्थित चम्पाकेश्वर मन्दिर परिसरमा पनि सरसफाई गरिएको छ । मनिदर क्षेत्रमा रहेको फोहोर तथा झाडी फाँडेर सरसफाई गरिएको स्थानीय बैकुण्ठ थापाले जानकारी दिए । १० नम्बर वडाका युवाहरुको उपस्थितीमा मन्दिर परिसर सरसफाई गरिएको थापाले जानकारी दिए । श्रावण महिनामा चम्पाकेश्वर मन्दिरमा पुजा आरधना हुने र भक्तजनहरुले स्थान समेत गर्ने भएकोले स्थानस्थल पनि सरसफाई गरिएको उनको भनाइ छ ।

थाहानगरकै वडा नम्बर ८ मा रहेको इन्द्रायणी माविले विद्यालयस्तरबाट वातावरणीय सरसफाई अभियान चलाउन विद्यार्थीहरुलाई सिकाउन थालेको छ । विद्यालयले विद्यालय परिसर सरसफाईका लागि शिक्षक र विद्यार्थी आफै जुट्न थालेको प्रधानाध्यापक नारायण कार्कीले बताए । विद्यार्थीहरुलाई विद्यालयमा सरसफाईको सीप सिकाउने र अभ्यास गराउन सके घरघरमा सन्देश पुग्ने प्रधानाध्यापक कार्कीको भनाइ छ । विद्यालयले अतिरिक्त क्रियाकलापमा सरसफाई कार्यक्रमलाई पनि राख्ने गरेको कार्कीले बताए ।

केही समय अघिमात्र वडा नम्बर ७ मा गाउँसम्म पुगेको सडक छेउछाउको झाडी र नाला सरसफाई गरिएको छ । स्थानीयहरुको स्वतःस्फूर्त अभियान अन्तर्गत कार्यक्रम भएको छ । थाहा आन्दोलनका प्रणेता तथा रुपचन्द्र विष्टको श्रमदान अभियानलाई अनुसरण गर्दै थाहानगरको ७ नम्बर वडामा पर्ने महादेवखर्क टोलबासीहरुको श्रमदानमा ग्रामीण सडकमा नाली खन्न श्रमदान गरिएको कार्कीले बताए ।

सरसफाई अभियानकै रुपमा थाहा नगरपालिकाको नगर प्रहरीहरुले पनि सरसफाई कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । नगर प्रहरीले थाहा नगरको एक मात्र पालुङ क्याम्पस परिसर तथा इन्द्रायणी मन्दिर परिसरमा सरसफाई गरेको छ । नगर प्रहरीकै सक्रियतामा प्रशिद्ध त्रिवेणी शंखमूल स्थित १०८ शंखधारा परिसरमा पनि सरसफाई गरेको छ । नगर प्रहरीले समुदायस्तरमा हुने विभिन्न सरसफाई अभियान तथा खानेपानी मुहान सरसफाई अभियानमा पनि सहभागी हुने गरेको छ ।

यसैबीच नगर प्रहरीले दामन डाँडाबास सडक अन्तर्गत गोपालीगाउँ नजिकै वर्षाका कारण अवरुद्ध सडक नाला सरसफाई गरेको छ । स्थानीयहरुको समेत सहभागितामा सरसफाई गरी जमेको पानी सञ्चालनमा ल्याएको स्थानीय विक्रम गोपालीले जानकारी दिए । नाला सरसफाई नभएको भन्दै थाहा नगरपालिकालाई ध्यानाकर्षण गराएको केहीबेरमै थाहा नगरपालिका कार्यालय, नगर प्रहरी, स्थानिय जग्गाधनी र स्थानिय सवारी व्यबसायी मित्रहरुको समन्वय र सहकार्यमा ढल सफाई, ग्राबेल बिछ्याउने कार्य भएको गोपालीले बताए । उनले घरजग्गाका सम्बन्धित व्यक्तित्वहरुलाई अबदेखि ढल नपुर्न र बेला बेलामा सफाई गरिदिन अनुरोध समेत गरेका छन् ।

त्यस्तै थाहा नगरपालिका वडा नम्बर २ मा रहेको ऐतिहासिक तथा प्रशिद्ध पाथीभरा मन्दिरको सरसफाई गरिएको छ । लक्ष्मीश्वर मन्दिरको नामले समेत परिचित उक्त मन्दिर परिसर सरसफाई र रंगरोगन समेत गरिएको छ । सोल्टू युवा क्लबको आयोजनामा उक्त कार्यक्रम भएको रुपक कार्कीले जानकारी दिए । थाहानगरकै पुरानो मध्यको एक उक्त मन्दिर संरक्षण तथा व्यवस्थापनमा स्थानीयहरुले चासो नदिएपछि युवाहरुले प्रयासमा सानो भएपनि काम गरेको उनले प्रतिक्रिया दिए ।
मन्दिरको सरसफाइ तथा रंगरोगन कार्यक्रममा आफ्नो अमूल्य समय, श्रम र सहयोग प्रदान गर्नुहुने सोल्टु युवा क्लब परिवारका सम्पूर्ण युवा साथीहरूप्रति कार्कीले आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।




















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्