राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ र प्रदेश सभा २(क) को क्षेत्रीय अधिवेशनले नवीन रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् । थाहानगरको शिखरकोट स्थित शंकर होटलमा भएको अधिवेशनले रायमाझीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । उनी यसअघि थाहानगर अध्यक्ष समेत भइसकेका छन् ।

मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर १ बाट राप्रपाका तर्फबाट निर्वाचित सांसद तथा भौतिक पूर्वाधार तथा यातायात समितिका सभापति दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । ‎‎कार्यक्रममा सांसद सिंहले २०४६ साल पछिका सबै काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले देशमा सुशासन र संविधान संशोधन गर्ने भन्दै एमाले–कांग्रेस मिलेको भए पनि प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन पछि भ्रष्टाचारको पहिरो झनै बढेको आरोप लगाए । उनले अहिले ‘भिजिट भिसा’ मा युवाहरू नै बेचिन थालेको अवस्थामा मुलुक गइरहेको दुखेसो गरे ।

‎‎सिंहले राप्रपाले संसदीय छानबिनको माग गर्दै दुई महिना सदन अवरुद्ध गरिसकेको जनाउँदै अहिले अन्तर्राष्ट्रिय दबाबपछि मात्र संवादमा बस्ने संकेत देखिएको बताए । देशको विकास र सुशासन राप्रपाले मात्र दिन सक्ने दाबी गर्दै, आफूले थाहानगरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि निरन्तर संसदमा आवाज उठाइरहे पनि सरकारमा रहेका दलका सांसदहरूले सहयोग नगरेको गुनासो गरे ।

राप्रपा क्षेत्रीय अध्यक्ष राम बहादुर घलेको अध्यक्षतामा भएको अधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य राम बहादुर थोकर, रामहरी न्यौपाने, प्रदेश सचिव गुन्जन बहादुर न्यौपाने, प्रदेश सदस्य खुशी कार्की, जिल्ला कार्यवाहक अध्यक्ष सागर थापा, जिल्ला सदस्य दीपक थापा, तिर्थ मोक्तान, निर्वाचन समितिका संयोजक गोपी न्यौपाने, सह–संयोजक महेन्द्र इटनी, संघीय निर्वाचन क्षेत्र १ (क) का अध्यक्ष सिताराम बर्तौला, २(ख) का अध्यक्ष नरहरी सुवेदी, हेटौंडा उपमहानगर अध्यक्ष अरुण लामा, थाहानगर अध्यक्ष कुलमान तामाङ लगायतका भातृ संगठनका नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी