मकवानपुरको मनहरी गाउँपालिकाले किसानको अन्नबाली सुरक्षाका लागि बाली बीमा कार्यक्रम सुरु गरेको छ । ७ साउनमा मनहरी गाउँपालिका–७ स्थित किसान सेतेलाल जिम्बाको १९ कठ्ठा खेतमा लगाइएको धानबालीको बीमा गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो।

बाली बीमा कार्यक्रम गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतको उपस्थितिमा शुभारम्भ गरिएको हो। कार्यक्रमअन्तर्गत हाल धानबालीको बीमा थालिएको छ भने सिजन अनुसारका अन्य अन्नबाली र तरकारीबाली पनि क्रमशः बीमाको दायरामा ल्याइने गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिए।

“बर्सेनि अन्नबालीमा किरा र रोगको प्रकोप, असिनापानी वा अन्य प्राकृतिक विपत्तिका कारण उत्पादनमा ह्रास आउँछ । यस्तो अवस्थामा किसानले भोग्नुपर्ने आर्थिक नोक्सानीको क्षतिपूर्ति दिलाउने उद्देश्यले बाली बीमा कार्यक्रम सुरु गरेका हौं,” उनले भने।

बाली बीमा कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाले शिखर इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी बीमा प्रक्रिया अघि बढाएको छ। बीमा गराउन इच्छुक किसानका लागि एक साताअघि नै गाउँपालिकाले सूचना प्रकाशन गरेको थियो। कार्यक्रम गाउँपालिकाका सबै वडामा विस्तार गरिनेछ ।

पालिका प्रेस
थप जानकारी