बागमती प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा सीसीटीभी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइएको छ। ३१ असारमा बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमको बीच प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सीसीटीभी जडान तथा सञ्चालन कार्यक्रमको उद्घाटन गरेका हुन्।
सार्वजनिक सुरक्षालाई सुदृढीकरण गर्न, निगरानी र अपराध रोकथामको प्रभावकारिताको लागि प्रदेश सरकारको विनियोजित बजेटबाट १० जिल्लाको ६४ स्थानमा १ सय २० वटा क्यामरा जडान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार उत्त, सीसीटीभी क्यामेरा ३८ वटा प्रहरी युनिटमार्फत नियमित निगरानी हुने व्यवस्था मिलाइएको छ। विशेष रूपमा संवेदनशील ठानिएका चितवनको नारायणगढ, सिन्धुलीको भिमान, मकवानपुरको रातोमाटे लगायत स्थानहरूमा अत्याधुनिक बिएलएच क्यामेरा तथा रडार प्रणालीसमेत जडान गरिएको छ।
उक्त प्रणालीमा कम्तीमा ९० दिनसम्मको दृश्य डाटा सुरक्षित राख्न सकिने व्यवस्था गरिएको छ भने विद्युत् आपूर्ति अवरुद्ध भएमा पनि काम गर्न सक्ने युपिएस प्रणालीसमेत राखिएको छ। सार्वजनिक खरिद ऐनअनुसारको प्रक्रिया पूरा गरी २०८२ जेठ १० गते सम्झौता गरिएको यस परियोजना असार मसान्तभित्र सम्पन्न गरिएको हो। कुल लागत दुई करोड ८४ लाख ११ हजार रुपैयाँ रहेको छ।
मन्त्री लामिछानेले क्यामरा जडानबाट प्रदेशको शान्ति सुरक्षालाई सुव्यवस्थित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रहरी कार्यालयहरुको लागि नयाँ भवन बनाउन, भएका भवनहरूको संरचना सुधार गर्न, थप क्यामरा जडानको लागि आगामी वर्ष ३ करोडको बजेट विनियोजन गरिएको समेत उनले जानकारी दिए।















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्