बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) ०८१/८२ मा लक्ष्यको ८४ प्रतिशत मात्रै आन्तरिक आय संकलन भएको छ । गत आवमा प्रदेशले चार अर्ब ५३ करोड ८४ लाख रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएको थियो । तर, असार मसान्तसम्म तीन अर्ब ८१ करोड ५८ लाख रुपैयाँ मात्रै संकलन भएको मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा भने तीन अर्ब ६६ करोड २० लाख रुपैयाँ संकलन गरेर ९७.५२ प्रतिशत लक्ष्य पूरा गरेको थियो ।
मन्त्रालयको तथ्यांकअनुसार प्रदेशले आन्तरिक आयतर्फ सवारीचालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुक नवीकरणबापत दुई अर्ब २५ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ भने वन क्षेत्रको आयबापत दुई करोड ११ लाख रुपैयाँ, व्यवसाय रजिस्टे«सन दस्तुरबापत ३५ करोड ९८ लाख रुपैयाँ संकलन भएको छ । प्रदेशले यातायात क्षेत्रको आम्दानीबापत ६६ करोड २८ लाख रुपैयाँ, परीक्षा शुल्कबापत १२ करोड ३७ लाख रुपैयाँ, पर्यटन शुल्क र पदमार्ग शुल्कबापत क्रमशः ६९ हजार र ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कृषि क्षेत्रको आय करतर्फ १३ हजार रुपैयाँ, कृषि उत्पादनको बिक्रीबापत तीन करोड ६९ लाख सात हजार रुपैयाँ र अन्य स्रोतबाट प्राप्त हुने रोयल्टीबापत १४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै आर्थिक वर्ष ०८१/८२ मा कुल अनुमानित राजस्व संकलन भने लक्ष्यको ९४ प्रतिशत संकलन भएको छ । प्रदेशले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा असार मसान्तसम्म ६० अर्ब ७४ करोड ७५ लाख रुपैयाँ संकलन गरेको हो ।
राजस्व बाँडफाँटबाट प्राप्त हुने आम्दानीमा ८३ प्रतिशत संकलन गरेको छ । यो शीर्षकबाट २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ राजस्व प्राप्त हुने अनुमान लिएकोमा २४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ संकलन गरेको हो । घरजग्गा रजिस्ट्रेसन दस्तुर ७९.९१ प्रतिशत (६ अर्ब १५ करोड ३० लाख रुपैयाँ), मूल्य अभिवृद्धि कर ९३.९२ प्रतिशत (आठ अर्ब नौ रकोड ४१ लाख रुपैयाँ), अन्तःशुल्क ७८.४१ प्रतिशत (दुई अर्ब ८९ करोड ६१ लाख रुपैयाँ) र सवारीसाधन कर ८२.३१ प्रतिशत (६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ) संकलन भएको मन्त्रालयले जनाएको छ ।
संघीय सरकारबाट प्राप्त हुने अनुदान लक्ष्यको ७३ प्रतिशत मात्रै प्राप्त भएको छ । प्रदेशले संघीय सरकारबाट गत आर्थिक वर्षमा निर्धारित १५ अर्ब ५७ करोड ५६ लाख रुपैयाँमध्ये ११ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ प्राप्त गरेको जनाएको छ ।















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्