युवामा रहेको सिर्जनात्मक क्षमता र उद्यमशील सोचलाई व्यवसायिक रूपमा रूपान्तरण गर्ने उद्देश्यले प्रदेश युवा परिषद् बागमती र मकवानपुर बहुमुखी क्याम्पसको सहकार्यमा ‘विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम’ सुरु गरिएको छ। नवाचारलाई प्रवर्द्धन गर्दै युवा स्टार्टअपहरूलाई आवश्यक परामर्श, वित्तीय सहायता, प्रविधि तथा पूर्वाधारको पहुँच उपलब्ध गराउने लक्ष्यसहित सञ्चालन गरिएको यस कार्यक्रमलाई निरन्तर अघि बढाउन दुवै संस्थाबीच समझदारीपत्र आदान–प्रदान गरिएको छ।
समझदारीपत्र आदान–प्रदान कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्त पौडल, क्याम्पसका निवर्तमान अध्यक्ष एवं बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, कार्यालय प्रमुख रमेश घिमिरे, स्ववियू सभापति प्रसिद्ध रेग्मी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले नवप्रवर्तनशील सोचलाई व्यवसायमा बदल्दै उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। छनोट गरिने युवा नवप्रवर्तकहरूलाई स्टार्टअप इन्क्यूबेटरमार्फत सहजीकरण गरिनेछ भने उनीहरूलाई व्यवसायिक तालिम, नेतृत्व विकास, लगानी व्यवस्थापन तथा डिजिटल मार्केटिङसम्बन्धी ज्ञान प्रदान गरिनेछ। स्टार्टअप एक्सपो, इनोभेशन समिट तथा विभिन्न उद्यमशीलता प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्दै नवाचारयुक्त स्टार्टअपहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउने योजना रहेको छ।
परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंका अनुसार, देशको आर्थिक वृद्धिमा योगदान गर्ने लक्ष्यसहित अघि बढाइएको कार्यक्रमले स्थानीय उत्पादन प्रवर्द्धन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नेछ। साथै, प्रतिभावान् युवाहरूलाई स्वदेशमै अवसर प्रदान गर्दै ‘ब्रेन ड्रेन’ न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रम अन्तर्गत नवप्रवर्तक तथा स्टार्टअपहरूलाई वित्तीय सहायता र लगानीको व्यवस्थापन गर्न विभिन्न उपायहरू अपनाइनेछ। प्रतिस्पर्धी रूपमा अनुदान वा बीउ पुँजी ९क्भभम ँगलम० उपलब्ध गराइने, स्टार्टअपलाई लगानीकर्तासँग जोड्ने अवसर प्रदान गरिने, बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराइने तथा व्यवसाय दर्ता, कर व्यवस्थापन तथा लगानी स्रोत पहिचान गर्न आवश्यक परामर्श दिइनेछ।
कार्यक्रम आयोजकहरूले इच्छुक युवाहरूलाई आवेदन दिन आह्वान गर्दै नवप्रवर्तनशील सोचलाई मूर्तरूप दिन सक्रिय सहभागिताको लागि आग्रह गरेका छन्।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्