मकवानपुर थाहा नगरपालिकाका ४८ जना युवाले ‘कफी मेकर’ तालिम लिएका छन् । पालिकाको युवा लक्षित सीप विकास तालिम अन्तर्गत सञ्चालन भएको १५ दिने बारिस्ता तालिमको २ चैत्रमा एक समारोहकाबीच समापन गरिएको छ ।

सयपत्री होटल ओखरबजारमा भएको तालिम समापन कार्यक्रम थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको हो । समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख गोपालीले सिकेको सिपलाई व्यवहारमा उतारेर उद्यमी बनी आत्मनिर्भर बन्न आग्रह गरे । उनले प्रमाणपत्र सिरानीमुनी नराखी सीप सिकेकाहरुले नगरपालिका क्षेत्र भित्र व्यवसाय गरेमा थप सहयोगका लागि थाहा नगरपालिकाले कार्यक्रम तय गर्ने बचन दिएका छन् ।

कार्यक्रममा सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले सहभागिहरुले व्यवसायमा सक्रियता बढाएमा थप प्रशिक्षण आयोजना गरि सिप परीक्षण गराउन समेत सहयोग गर्ने बचन दिए । थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले युवापुस्तामा बढ्दै गएको बेरोजगारी समस्यालाई ध्यानमा राखेर थाहा नगरपालिकाद्वारा गरिएको ‘कफी मेकर’ तालिम अर्थपूर्ण रहेको बताए ।

कार्यक्रममा सहभागी हरुले तालिम अबधी कम भएको बताए । उनीहरूले सीमित समयमा धेरै कुरा सिक्न पाएकोमा प्रशिक्षक र आयोजकलाई धन्यवाद दिएका थिए। कार्यक्रममा तालिमका उत्कृष्ट प्रशिक्षार्थी सुजन लामा, अमद तामाङ, अमिना स्याङ्तान र समिना माया तामाङलाई उत्कृष्ट प्रशिक्षार्थीको रुपमा सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।

सो अवसरमा सहभागीहरुलाई प्रमुख अतिथि नगर उपप्रमुख भरत गोपालीले प्रमाणपत्र प्रदान गरेका थिए। थाहा नगरपालिका सामाजिक विकास समिती सदस्य पवित्रा सिंह ठकुरीको अध्यक्षतामा भएको समापन समारोहमा आर्थिक बिकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझी लगायतका उपस्तिथि रहेको थियो।

पालिका प्रेस
थप जानकारी