मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ४० जना मानिस सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । इन्द्रसरोवर सामाजिक सुरक्षा कोषमा जोडिएका श्रमिकलाई सामाजिक सुरक्षा कोषको कार्ड वितरण गरिएको हो । इन्द्रसरोवर गाउँपालिका र रोजगार केन्द्रबीच गाउँपालिकाभित्र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनेगरी सम्झौता भएको थियो ।
सम्झौताअनुसार यसै वर्षबाट स्थानीय श्रमिक वर्गलाई सामाजिक सुरक्षा कोषमा समावेश गरिएको हो । पालिकाले गत आर्थिक वर्षको विनियोजित ५ लाख रुपैयाँको बजेटबाट ४० जना श्रमिकलाई सुरक्षा कोषमा आवद्ध गराएको जानकारी गराएको छ । चालू आर्थिक वर्ष २०८३÷८४ मा सामाजिक सुरक्षा कोषका लागि झण्डै २० लाख रुपैयाँको बजेट छुट्याएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए ।
गाउँपालिकाले यसवर्ष एक सय ५० देखि दुई सय जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लक्ष्य लिएको पालिका अध्यक्ष पुडासैनीले बताए । गाउँपालिकाभित्रका गरिब तथा विपन्न वर्गका श्रमिकका जीवन सुरक्षा गर्नका लागि पालिका तत्पर रहने उनले बताए । गाउँपालिकाले २, ३, ४ र ५ नम्बर वडामा प्रतिवडा १०÷१० जनाको दरले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन श्रमिक छनोट गरेर पालिकालाई उपलब्ध गराउन अनुरोध गरिएको थियो । यसअघि भीमफेदी गाउँपालिकाले पालिकाका श्रमिक वर्गलाई कोषमा आवद्ध गराएको थियो ।
कोषमा आवद्ध भएका मानिस स्वास्थ्य उपचार र शिक्षामा सकारात्मक प्रभाव पार्न सहयोग गर्ने उनले बताए । ६० वर्ष पूरा भएका नागरिकले मासिकरुपमा पेन्सन पाउने उनको भनाई छ । यसका लागि प्रदेश सरकारले पनि ४ दशमल ६१ प्रतिशतको बजेट सहयोग गर्ने उनले बताए । अध्यक्ष पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमाकुमारी लामा, प्रमुख प्रशासकीयअधिकृत रामचन्द्र लामा, सामाजिक सुरक्षा कोषका प्रशासकीय अधिकृत पूर्णबहादुर नेपाली, वडा अध्यक्षको उपस्थिति रहेको थियो ।













































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्