चितवन मेडिकल कलेजले मकवानपुरको हेटौंडामा नयाँ अस्पताल निर्माण गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा बन्ने नयाँ अस्पताल भवनको शिलान्यास गरिएको छ ।
‘सीएमसी हेटौंडा’ नाम दिइएको अस्पताल करिब २ अर्ब लगानीमा एक वर्षभित्र बन्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाले जानकारी दिए । उनका अनुसार १९ कठ्ठा जग्गामा बन्ने अस्पताल एक सय शय्याको हुनेछ ।
राजमार्गसँगै जोडिएको अस्पतालमा आकस्मिक कक्ष, सिटी स्क्यान, आइसीयू, एनआईसीयू, पीआईसीयू, मोडुलर ओटी, क्याथ ल्याबसहित सुपरस्पेसलिष्ट सेवा सञ्चालन गरिने अध्यक्ष देवकोटाले जानकारी दिए ।
हेटौंडा बागमती प्रदेशको राजधानी भएको तथा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिराहा लगायतका मधेश प्रदेशका बिरामीहरुलाई उपचार सेवाका लागि सहजता होस् भन्ने उद्देश्यले सीएमसी हेटौंडा अस्पताल सञ्चालन गर्न लागिएको देवकोटाको भनाइ छ । ‘त्यस भेगका बिरामीहरू उपचारका लागि चितवन वा काठमाडौं जानुपर्ने बाध्यतालाई कम गर्दै आफ्नो नजिक र पायक पर्ने ठाउँबाट नै उपचार सेवा गराउने उद्देश्यले चितवन मेडिकल कलेजको पहिलो शाखाका रुपमा यो अस्पताललाई सञ्चालन गर्न लागेका हौं,’ अध्यक्ष तथा प्रबन्ध निर्देशक देवकोटाले भने, ‘चितवन मेडिकल कलेजलाई केन्द्रमा राखेर यस वरपरका जिल्ला वा क्षेत्रमा स्याटेलाइट अस्पतालहरु खोल्ने जाने नीति लिएका छौं ।’
उनले अस्पताल सञ्चालन भएसँगै स्वास्थ्यकर्मी तथा तीसँग सम्बन्धित क्षेत्रमा रोजगारीसमेत सिर्जना हुने र व्यवसायिक पाटो पनि राम्रो हुने बताए । सीएसमीले हेटौंडामा नै २०८० माघ २ गतेदेखि ‘सीएमसी चुरे हिल’ अस्पताल सञ्चालन गरिरहेको छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्