मकवानपुरको राक्सिराङ गाउँपालिका–८ माइसिराङस्थित भामडोरी चेपाङ झरनाको खोँचमा फसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ । राक्सिराङ गाउँपालिकाको नगर प्रहरीको नेतृत्वमा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उक्त उद्धार कार्य सम्पन्न भएको हो ।
उद्धार कार्यमा नगर प्रहरीसँगै चैनपुर प्रहरी चौकी र गिंगुु प्रहरी चौकीका प्रहरीहरू समेत सक्रिय रूपमा सहभागी भएका थिए। झण्डै पाँच फिट तलको खोँचमा पुगेका नगर प्रहरी प्रमुख राजकुमार चेपाङ (प्रजा) ले जोखिम मोलेर ती व्यक्तिको उद्धार गरेका हुन् ।
नगर प्रहरी प्रमुख राजकुमारका अनुसार नगर प्रहरी, नेपाल प्रहरी र स्थानीयको समन्वयमा खोँचमा फसेका व्यक्तिलाई उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाइएको हो । उद्धार गरिएका व्यक्ति सुरुवाती अवस्थामा अचेतजस्तै अवस्थामा रहेका थिए । डोरीको सहायताले उद्धार गरी सामान्य पेय पदार्थ र बिस्कुट खुवाएपछि होसमा आए पनि उनले आफ्नो नाम र ठेगाना खुलाउन सकेका छैनन्।

ती व्यक्ति कसरी भीरमुनीको गहिरो खोँचमा पुगे भन्ने विषय अझै अस्पष्ट रहेको जनाइएको छ । उक्त स्थान अत्यन्त जोखिमपूर्ण रहेको र सामान्य अवस्थामा मानिस पुग्न नसक्ने भएकाले घटना शंकास्पद देखिएको नगर प्रहरी प्रमुखले बताए ।
नेपाली सेनाबाट अवकाश प्राप्त नगर प्रहरी प्रमुख राजकुमारले विपद् व्यवस्थापनसम्बन्धी अनुभव र तालिमको आधारमा उद्धार कार्यलाई सफलतापूर्वक नेतृत्व गरेका हुन् । राक्सिराङ, गिंगु लगायतका प्रहरी चौकी र स्थानीयवासीको सक्रिय सहभागितामा उद्धार गरिएका व्यक्तिलाई इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको छ । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनको पहिचान खुलाउन आवश्यक अनुसन्धान भइरहेको छ ।

















































पालिका प्रेस 















प्रतिक्रिया दिनुहोस्