आज विश्व क्षयरोग दिवस । यस अवसरमा क्षयरोग सचेतना सम्बन्धी विविध कार्यक्रम गरी यो दिवसलाई मनाइँदै छ ।

यस अवसरमा देशमै पहिलो पटक क्षयरोग मुक्त पालिका घोषणा अभियान थालेको थाहा नगरपालिकाले पनि दिवसको अवसरमा समुदायमा क्षयरोग सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

थाहा नगरपालिकामा आर्थिक वर्ष ०८१/०८२ मा प्रतिलाख ७८ जना क्षयरोगी विरामी थिए भने हाल त्यो संख्या घटेर चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्रतिलाख ४६ जना कायम भएको छ । नगरपालिकाले विविध सचेतनामुलक कार्यक्रमको साथै नगरका १२ वटै स्वास्थ्य संस्थामा डट्स सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । थाहा नगरपालिकाको विभिन्न वडाहरुको २६ जना दैनिक औषधि सेवन गरिरहेका छन् ।

यसैबीच नेपालमा क्षयरोग पत्ता लगाउने दर (केश नोटिफिकेशन रेट) प्रतिलाख २३५ रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका छन्, जसको दर प्रति एक लाख जनसंख्यामा २२७ रहेको छ । साथै, हरेक वर्ष करिब १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ, जसको मृत्यु दर प्रति एकलाखमा ५३ रहेको छ ।

पालिका प्रेस
थप जानकारी