मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ निवासी गजलकार कुमार नेगी हेटौंडामा सम्मानित भएका छन् । मकवानपुरको साहित्यिक संस्था गजल मञ्च मकवानपुरले यस वर्षको “श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२” बाट गजलकार कुमार नेगी ‘पालुङ्गे चरो’लाई सम्मान गरेको हो । गजलकार पालुङ्गे चरोलाई गजल साहित्यको प्रवद्र्धन, संरक्षण तथा सम्वद्र्धनमा योगदान पु¥याएको मूल्याङ्कनसहित २ फागुनमा सम्मान गरेको हो ।

मकवानपुरको गजल क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्ने उद्देश्यले साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्व कार्यसमिति सदस्य भोला सिवाकोटीले आफ्ना माता–पिता तथा छोरीको स्मृतिमा स्थापना गरेको उक्त सम्मानमा सम्मानपत्रसहित नगद पाँच हजार प्रदान गरिएको हो । गजलकार नेगीको वि.सं. २०५८ सालमा प्रकाशित ‘सृजनाका हातहरू’ गजल संग्रह मकवानपुर जिल्लाबाट प्रकाशित पहिलो गजल कृति हो।

जिल्लाको गजल इतिहासमै पहिलो कृति प्रकाशन गर्दै गजल विधाको उन्नयन र प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याएको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो। उक्त सम्मानबाट यसअघि गजलकार अनिश न्यौपाने ‘भावना’ तथा गजल मञ्च मकवानपुरका संस्थापक एवं पूर्व अध्यक्ष दुर्गा लामिछाने ‘नमुना’ सम्मानित भइसकेका छन्।

मञ्चका अध्यक्ष सञ्जीत श्रेष्ठको सभाध्यक्षता तथा डा. निमेष निखिलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिका रूपमा वरिष्ठ साहित्यकार तुलसी घिमिरे रहेका थिए ।

हरेक वर्ष मकवानपुरका माध्यमिक तहका विद्यार्थीहरूबीच आयोजना गरिने गजल प्रतियोगितामार्फत प्रदान गरिने मनमाया स्मृति गजल पुरस्कार यस वर्ष श्री गोरक्षनाथ माध्यमिक विद्यालय, हेटौँडा–१८ की इन्दिरा विश्वकर्माले प्राप्त गर्न सफल भइन्। प्रतियोगिताका लागि प्राप्त १८ गजलमध्ये उत्कृष्ट १० गजलका गजलकारलाई अन्तिम चरणको वाचनका लागि आमन्त्रण गरिएको थियो। अन्तिम वाचनपछि इन्दिरा विश्वकर्मा सर्वोत्कृष्ट घोषित हुँदै नगद रु. ५,५५५ राशिसहितको पुरस्कार जित्न सफल भइन्।

उक्त पुरस्कार मञ्चका पूर्व अध्यक्ष तथा सल्लाहकार दीपक गौतमले आफ्नी हजुरआमाको सम्झनामा स्थापना गरेका हुन् । उत्कृष्ट १० जना गजलकारलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ । प्रतियोगितामा निर्णायकका रुपमा मञ्चका निवर्तमान अध्यक्ष गजलकार केशव समर्पण तथा साहित्य संगम मकवानपुरकी सहसचिव भवानी तिमल्सिना रहेकी थिइन् ।

मकवानपुरमा क्रियाशील विभिन्न साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा अग्रज साहित्यकार देवराज खरेल, राजकुमार लामिछाने, विष्णु गौतम तथा मञ्चका पूर्व अध्यक्षहरू र सल्लाहकारहरूका साथै विद्यार्थीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो। हेटौँडा–४ स्थित साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रममा नियमित गजल यात्राअन्तर्गत मुस्कान तिमल्सिना, गौरी कडेंल, देवराज तिवारी र राम कार्की लगायतले गजल वाचन गरेका थिए।

पालिका प्रेस
थप जानकारी