मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ मा निर्माणका लागि प्रस्ताव गरिएको कित्ते डाँडा जन्तीबासे खानीखोला झेलुङ्गे पुल निर्माणका लागि स्रोत सुनिश्चितता भएको छ । सो पुलका लागि २ करोड ७४ लाख ९० हजार पाँचसय बजेट स्रोत सुनिश्चित भएको हो । पुल निर्माणका लागि एक वर्षअघि वडाध्यक्ष हेमकुमार थिङले यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशबाट सर्भेक्षण गराई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गराउन लगाएका थिए । वडाध्यक्ष थिङले आर्थिक वर्ष २०८१/०८२ मा ८ नम्बर वडामा डिपिआर गराएका पाँच वटा झोलुङ्गे पुलमध्ये एउटा पुलको लागि स्रोत सुनिश्चित भएको हो ।

वडाध्यक्ष लामाले भने–‘बारमुरे मूलखोला छाप झोलुङ्गे पुल, खानीगाउँ काभ्रे झोलुङे पुल, किट्टेडाँडा जन्तीबसे झोलुङ्गे पुल, आकाशे फाँट देउखेल झोलुङ्गे पुल र मोरिया सुलिकोट देउखेल झोलुङ्गे पुलको डिपिआर निर्देशनालयले तयार गरिदिएको छ, एउटा पुलको लागि स्रोत सुनिश्चित भयो अरुको पनि क्रमशः हुनेछन् ।’ वडाले थालेको झोलुङ्गे पुल निर्माण अभियानमा निर्देशनालयले सकारात्मक रुपमा लिएको प्रति वडाध्यक्ष थिङले आभार व्यक्त गरे ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गत ३० पुसको मन्त्रीस्तरीय निर्णयबाट ‘प्रदेश आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८२’ अनुसार पुलको खरिद गुरुयोजना स्वीकृत गर्दै स्रोत सुनिश्चितताको पत्र सम्बन्धित मन्त्रालयलाई पठाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावअनुसार बहुवर्षे ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए । स्रोत सुनिश्चित भएको योजनाको चालू आर्थिक वर्षमै ठेक्का लगाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

थाहा नगरपालिकाको एउटा सहित बागमती प्रदेशभरका ४६ आयोजना स्वीकृत भएका छन् । यी सबै आयोजनाका लागि आगामी आर्थिक वर्ष ०८५/८६ सम्मको बजेट सीमा निर्धारण गरिएको छ । बहुवर्षे र स्रोत सुनिश्चितता गरिएका आयोजनाको कुल अनुमानित लागत तीन अर्ब २३ करोड ३० लाख रुपैयाँ रहेको सूचना अधिकारी पौडेलले बताए । यसमध्ये चालू आर्थिक वर्षमा एक अर्ब ७५ करोड तीन लाख रुपैयाँ, आर्थिक वर्ष ०८३/८४ मा एक अर्ब ९३ करोड ९९ लाख रुपैयाँ, आर्थिक वर्ष ०८४/८५ मा ९३ करोड ९७ लाख रुपैयाँ र आर्थिक वर्ष ०८५/८६ मा १७ करोड ९८ लाख रुपैयाँ खर्च गर्ने गरी लागत अनुमान गरिएको उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी