हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले मंसिर ५ गते सडक डिभिजन हेटौंडाबाट २५/२५ गजभित्र पर्ने संरचना हटाउन सूचना जारी भएको दिनदेखि नै पीडितलाई क्षतिपूर्ति दिलाउन आफू संघीय निकायमा दौडधुपमा लागेको दाबी गरेकी छन् । सडकछेउका संरचना भत्किएपछि प्रभावित स्थानीयको चासो बढेको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै सडक विस्तारलाई ‘असामान्य तर, आवश्यक’ कार्यकारुपमा व्याख्या गरेकी छन् ।
‘सडक विस्तारको सूचना आएसँगै मैले पीडितलाई उचित क्षतिपूर्ति दिलाउन संघीय सरकारका विभिन्न निकायमा दौडधुप गरेँ,’ नगरप्रमुख लामाले लेखेकी छन् । उनले सडक विस्तारमा साथ दिने स्थानीय नागरिक, संघीय मन्त्री कुलमान घिसिङ, बागमती प्रदेश सरकार, जिल्ला प्रशासन, प्रजिअ, सडक डिभिजन, सुरक्षा निकाय, स्थानीय युवा तथा उपमहानगरका जनप्रतिनिधि र कर्मचारीप्रति आभार व्यक्त गरेकी छन् । उनका अनुसार घर तथा संरचना भत्किएका नागरिकले भोगेको क्षतिलाई न्यूनीकरण गर्नु नगर पालिका सुरुदेखिकै प्रतिबद्धता हो । २१ मंसिरमा नगर कार्यपालिकाको बैठक बसेको थियो । नगरप्रमुखका हैसियतले यस कार्यको ‘जसअपजस’ दुवै आफूले वहन गर्ने उल्लेख गर्दै उनले पीडितका लागि नगर कार्यपालिकाको बैठकबाट गरिएको निर्णय सार्वजनिक गरेकी छन् । उनका अनुसार भत्किएका घरसंरचना पुनर्निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराउने प्रक्रियामा उपमहानगरपालिका अर्थ मन्त्रालयसँग छलफल अघि बढाउनेछ ।
संरचना पुनर्निर्माणका कानुनी पाटालाई द्रुततररुपमा अघि बढाइने र अनावश्यक झन्झट हटाइने उनको भनाइ छ । प्रभावित व्यवसायीलाई व्यवसाय कर छुट दिलाउन पहल गरिने उनले उल्लेख गरेकी छन् । सडक विस्तारका कारण घरबारविहीन बनेकाहरुको आवास व्यवस्थापनमा पनि नगरपालिका सक्रिय रहने उनले बताइन् । प्रभावित नागरिकले नयाँ संरचना निर्माण गर्दा २ हजार वर्गफुटसम्म नक्सापास दस्तुरमा छुट दिने प्रस्ताव नगरपालिकाले अघि सार्ने तयारी भएको उनले जनाइन् । चौडा सडकसँगै हेटौंडाका ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व बोकेका संरचनाको पुनर्निर्माण पनि आवश्यक रहेको उनले विशेष जोड दिइन् ।
सडक विस्तारपछि देखिएका समस्या, राहत र सहुलियत सम्बन्धी प्रस्तावलाई आइतबार बसेको कार्यपालिका बैठकले नगरसभासमक्ष पेस गर्ने निर्णय गरेको उपमहानगरले जनाएको छ । प्रमुख लामाले अब भत्किएका संरचना चाँडो पुनर्निर्माण गरी चौडा सडकसहित ‘नमुना हेटौंडा’ निर्माणमा सबैपक्ष एकजुट हुनुपर्ने बताउँदै नागरिकलाई साथ सहयोगका लागि आह्वान गरेकी छन् ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्