मकवानपुरको हेटौंडा–१८ स्थित मनोरम पर्यटकीय स्थल गुम्बाडाँडा (मूर्ति बगैंचा)मा अब आगन्तुकहरूलाई थप आकर्षित गर्ने नयाँ आकर्षणसहित यहाँ चियाभट्टी सञ्चालनमा आएको छ । स्थानीय युवा सृजन बास्तोलाले स्वदेशमै स्वरोजगार र आत्मानिर्भर बन्न आफ्नै ठाउँमा चियाभट्टी सञ्चालनमा ल्याएका हुन् ।

केहीदिनअघि सञ्चालनमा आएको चियाभट्टीले यहाँ आउने पर्यटक तथा आसपासका स्थानीयलाई विशेष स्वादको अनुभूति प्रदान गर्ने बास्तोलाले बताए । हरेक सेवाग्राहीलाई घरकै जस्तो वातावरण महसुस गराउने प्रयास गर्ने बास्तोलाको भनाई छ । ‘मैले यहाँ आउने हरेक पाहुनाले घरजस्तै आत्मीयता अनुभव गर्नुहुन्छ भन्ने चाहेको छु,’ बास्तोलाले भने । बास्तोलाको चियाभट्टीमा विभिन्न प्रकारका स्वादिष्ट चिया, खाजा र नास्ताहरु उपलब्ध छ । स्थानीय परिकारहरूलाई समेटेर तयार पारिएको मेनुमा आगन्तुकहरूले घरैमा बनाए जस्तो स्वादको आनन्द लिन पाउँछन् । यहाँका विभिन्न टेस्टका चियाहरूले विशेष गरी पर्यटकहरूको मन जित्ने बास्तोलाको विश्वास छ ।

यस्तै, चियाभट्टीले जन्मदिन, वार्षिकोत्सव, मेहेन्दी जस्ता विशेष अवसरहरूका लागि पाटी आयोजनाको सुविधा पनि दिने बताइएको छ । साथै, मिनी क्याटरिङको व्यवस्था र फायर क्याम्पिङको सुविधाले यसको आकर्षण बढाएको छ । प्राकृतिक वातावरणमा साँझ बिताउन चाहने पर्यटकहरूका लागि फायर क्याम्पिङ विशेष रूपमा रहेको बास्तोलाले बताए । बास्तोलाको चियाभट्टीले आर्थिक मुनाफासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको छ । बास्तोलाले चियाभट्टीमा राखेको डोनेसन बक्समा जम्मा भएको रकमबाट स्थानीय सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएका छन् ।

‘व्यवसायसँगै समाजप्रतिको जिम्मेवारी पनि निभाउन चाहन्छु,’ बास्तोलाले भने । आगन्तुकहरूको मनोरञ्जनका लागि चियाभट्टी परिसरमा पिङ र फोटो बुथको व्यवस्था पनि गरिएको छ । प्राकृतिक सौन्दर्यको बीचमा फोटो खिचाउने चाहना राख्ने पर्यटकहरूका लागि यहाँको फोटो बुथ विशेष आकर्षण बनेको छ । सहुलियत मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध बास्तोलाले नियमित ग्राहकहरूका लागि विशेष अफर पनि ल्याएका छन् । २०० रुपैयाँभन्दा बढीको खाजा पाँच पटक खरिद गर्ने ग्राहकहरूलाई एक प्लेट मःम निःशुल्क प्रदान गरिने व्यवस्था छ ।

गुम्बाडाँडाको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र अब स्वादिष्ट खानाका परिकारहरूले यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख गन्तव्य बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । बास्तोलाले गुम्बाडाँडाको पर्यटन विकासलाई टेवा पु¥याउँदै स्थानीय रोजगारी सिर्जना र सामाजिक कल्याणका लागि गरेको यो प्रयास अन्य युवा उद्यमीहरूका लागि पनि प्रेरणाको स्रोत बन्नसक्ने स्थानीयको बुझाई छ ।

पालिका प्रेस
थप जानकारी