मकवानपुरको कैलाश गाउँपालिकाले १० दिने एडभान्स हाते ट्याक्टर मर्मत तालिम दिएको छ । गाउँपालिकाको उद्यम विकास शाखाले गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत मर्मत तालिम सञ्चालन गरेको हो ।

तालिमको ८ वैशाखमा समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकामा कृषकले खेतीपाती हलगोरु पालेर परम्परागत रुपमा गर्दै आइरहेको अवस्थामा पछिल्लो समय प्रविधिसँग जोडिँदै गएको बताए । ‘गाउँपालिकाभित्र व्यक्तिगत र कृषक समूहमार्फत अनुदान कार्यक्रम अन्तर गत पाँच सय भन्दा बढी हाते ट्याक्टर रहेको अनुमान छ, ति ट्याक्टर बिग्रेपछि थन्क्याएर राख्नुपर्ने बाध्यता अब अन्त्य हुनेछ’ अध्यक्ष मुक्तानले भने । ट्याक्टर मर्मत तालिमले अब ती मर्मत गरेर पुनः सञ्चालन गर्न सकिने उनको भनाई रहेको थियो । मर्मत गर्न मनहरी कि त हेटौंडाबाट प्राविधिक बोलाउनु पर्ने र बोलाउँदा खर्चको भार कृषकको बढ्ने अवस्था थियो, अब यस तालिमपश्चात सामान्य मर्मत गर्न अब घरमै सकिने भएकाले केही सहजता बनेको अध्यक्ष मुक्तानले बताए ।

‘कृषिलाई यान्त्रिकरण गर्ने क्रममा गाउँघरमा हाते ट्याक्टर वितरण गरिएको अवस्था छ, ती मेशिनरी वस्तु बिग्रेपछि मर्मत गर्न कठिनाई रहेको अवस्थामा मर्मत तालिम प्रदान गरेका हौं, उपाध्यक्ष बालकुमार मल्लले भने । मर्मतको सीपले खर्चको भार कम हुनुका साथै अन्य ट्याक्टर मर्मतले आयआर्जनको स्रोत समेत वृद्धि हुने उपाध्यक्ष मल्लले बताए । लघुउद्यम सीपले गरिबी निवारणमा टेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले बताए ।

आफ्नो घरको मात्र नभई गाउँघरका अन्य ट्याक्टर पनि मर्मत गरेर सीप प्रदर्शन गर्न सहभागिलाई आग्रह गरेका छन् । समय र स्रोतसाधनको कमी रहेकाले आगामी दिनमा थप तालिमको व्यवस्था गरिने श्रेष्ठले बताए । वडा ८ का वडाध्यक्ष आशिष प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, वडासदस्य विविराज थिङ, प्रशिक्षक दुर्गाबहादुर बोम्जन, वडा ७ का सचिव प्रकाश अर्याल, उद्यम विकास प्रमुख प्रमिला अर्याल, कृषिप्राविधिक प्रताप थिङलगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी