मोरङको ग्रामथान गाउँपालिकाको आन्तरिक विवादले चरम रुप लिएको छ । आफूलाई जानकारी नै नदिई अवैध उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेको भन्दै अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोधेपछि पालिकाको आन्तरिक विवाद चुलिएको हो । यही पुस ८ गते प्रमुख प्रशासकीय अधिकृत पौडेलले गैरकानुनी रुपमा भइरहेको उत्खनन रोक्न भन्दै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत पौडेले प्रहरीलाई लेखेको पत्रमा भनिएको–‘ग्रामथान गाउँपालिका वडा नं. २ अन्तर्गतका विभिन्न नहर, सडकलगायतका सार्वजनिक स्थलबाट गैरकानुनी रूपले माटो उत्खनन भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन कार्य रोकी उत्खनन कार्यमा संलग्न सवारीसाधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ ।’

प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफूलाई जानकारी नदिई अवैध उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेकाले स्पष्टीकरण सोधेको अध्यक्ष माझीको भनाइ छ । अध्यक्ष माझीले यही पुस ११ गते स्पष्टीकरण सोधेका थिए । अध्यक्ष माझीले सोधेको स्पष्टीकरणको पत्रमा भनिएको छ –‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१÷०९÷०८ गतेको दिन चं. नं. १०१५, मिति २०८१–०९–०८ को गैरकानूनी उत्खनन कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के–कति कारणले काटिएको हो ? स्पष्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ ।

स्पष्टीकरणको जवाफ नदिएका प्रमुख प्रशासकीय अधिकृत पौडेललाई कारबाही गर्ने अध्यक्ष माझीले चेतावनीसमेत दिएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गरेर माझीले ग्रामथान गाउँपालिका–२ मा भइरहेको अवैध उत्खनन रोक्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । आफूलाई संविधानले नै शासन व्यवस्था गर्ने अधिकार दिएको भन्दै अध्यक्ष माझीले भने, ‘सरकार प्रमुखको हिसाबले ग्रामथान गाउँपालिकाको काम कारबाहीको जिम्मा मेरो हो, प्रमुख प्रशासकीय अधिकृत त मेरो मातहतमा हो नि, मलाई नै जानकारी नदिने ?’

पालिका प्रेस
थप जानकारी