थाहा नगरपालिकाको न्यायिक समितिले पालिकामा सूचीकृत मेलमिलापकर्ताहरुका लागि ४८ घण्टे आधारभूत तालिम सदिएको छ । चितवनको सौराहमा १४ मंसिरबाट सुरु भएको तालिम २० मंसिरमा एक कार्यक्रम बिच समापन गरिएको हो । मेलमिलाप सम्बन्धि तालिम लिएपछि गाउँटोलमा भएका विवादहरुलाई समाधान गर्न सक्षम भएको महशुस गरेको थाहा नगरपालिका वडा नम्बर ८ का गौतम बुद्द लामाले बताए ।
सामाज भएका विवादहरुमा पहिला परम्परागत र दबाब मुलक थियो भने तालिम लिए पश्चात दुबै पक्षको मनाशायलाई बुझेर मात्र निर्णय गर्नुपर्ने भन्ने सिकाइ भएको थाहा ४ को श्रीकृष्ण केसीको भनाइ छ । तालिम समापन कार्यक्रममा थाहानगर प्रमुख बिष्णु बिष्टले टोल टोलमा गएर कानूनी सचेतना फैलाउन मेलमिलापकर्ताहरुलाई आग्रह गरे । उनले समाजमा हुने गरेको मनमुटाव, खिचातानी, वादविवादका कारण सभ्य समाज निर्माणमा समस्या श्रृजना हुने गरेको हुँदा सभ्य समाजको निर्माण, भाईचराको सम्बन्ध कायम गर्नका लागि पनि मेलमिलापको अवधारणा सकारात्मक रहेको बताए ।
थाहा नगर पालिकाका उपप्रमुख तथा न्यायीक समिति संयोजक भरत गोपालीले नगरपालिकामा आएका अधिकांश विवाद समाधान गरी पठाएको बताए । उनले दर्ता भएका तथा नभएका लिखित तथा मौखिक दर्जनौ विवादको समाधान गरिएको र आफ्नो क्षेत्राधिकार बाहिर रहेका विवादलाई न्यायिक लडाईका लागि अदालतसम्म पठाएको गोपालीको भनाइ थियो ।

उपप्रमुख गोपालीले अहिले पनि समाजका व्यक्तिहरुले झिना मसिना मुद्दाहरुमा पनि प्रहरी प्रशासन एवम् अदालतकै भर पर्नुपर्ने बाध्यता रहेको हँुदा गम्भिर प्रकृतिका मुद्दा बाहेक अन्य सामान्य मुद्दाहरुलाई आफनै गाँउठाँउमा मेलमिलाप केन्द्र मार्फत गर्नुपर्नेमा सुझाव दिदै उनले मेलमिलाप राम्रोसंग सञ्चालनका लागि नगरपालिकाबाट गर्नुपर्ने सहयोगका लागिपछि नहटने प्रतिवद्धता व्यक्त गरे ।
तालिममा थाहा नगरपालिकाको १२ वटै वडाका ३६ जनाको सहभागिता रहेको थियो । तालिममा मेलमिलापमा आवश्यक सिपहरु, सहजीकरण सीपहरु, कानुनी तथा न्यायिक पक्षहरु, मानव अधिकार, विवाद समाधानका तरिकाहरु, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग, मेलमिलाप सम्बन्धी ऐन र नियामावली, मेलमिलापकर्ताको भुमिका र दायित्वहरु, मेलमिलापमा प्रसंशनिय दृष्टिकोणको परिचय, बहुसरोकार रहेको विवाद मेलमिलाप लगायतका विषयमा जानकारी गराइएको थियो । सहभागीहरुलाई बन्धुराज पौडेल र कविता अधिकारीले सहजिकरण गरेका थिए ।
तालिमको उद्घाटन कार्यक्रम रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठकको आतिथ्यतामा भएको थियो भने रत्ननगर नगरपालिकाका मेलमिलाप केन्द्रका संयोजक भुपेन्द्र अधिकारी, मेलमिलाप सचीव संगिता खनाल, थाहा नगरपालिकाका न्यायिक समिति सदस्य बम बहादुर सिन्तान, अनिता बल, थाहा नगरपालिकाका मेलमिलाप सहजकर्ता गोपी कार्की लगायतका उपस्तिथि रहेको थियो। सो अवसरमा तालिमका सहभागीहरुलाई कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिष्ट र उपप्रमुख गोपालीले सहभागीहरुलाई प्रमाणपत्र विरतरण गरेका थिए ।

















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्