काभ्रेको नमोबुद्ध नगरपालिकाको ११औँ नगरसभा २६ माघमा भएको छ । नगर प्रमुख टीपी शर्मा तिमल्सिनाको अध्यक्षताको ११औं नगरसभाको दोस्रो बैठकले संंस्था दर्ता सम्बन्धमा बनेको विधेयक पारित गरेको छ ।  नगरपालिकाको संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजकसमेत रहेका वडा नम्बर ७ का वडाध्यक्ष धर्मसिं लामाले नमोबुद्ध नगरपालिकाको संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ पेस गरेका थिए । नगरसभाको बैठकले सर्वसम्मत उक्त विधेयक पारित गरेको हो ।

यस्तै, नगरसभा बैठकमा विधायन समितिका संयोजक एवं वडा नम्बर २ का वडाध्यक्ष सञ्जीव ढकालद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७८ माथिको संशोधन प्रस्ताव पनि बैठकले पारित गरेको छ । संघ–संस्थासम्बन्धी विधेयक र विनियोजन विधेयक संशोधन प्रस्ताव गत २९ पुसमा बसेको ११औँ नगरसभाको पहिलो बैठकमा पेस गरिएको थियो । नमोबुद्ध नगरपालिकाले ११औँ नगरसभा सम्पन्न गरिसक्दा ७० वटा ऐन–नियम बनाइसकेको छ । पाँच वर्षे कार्यकालको अन्तिम चरणमा ११औँ नगरसभासम्म आइपुग्दा जनप्रतिनिधिबीच सहमति र सहकार्यमै नगरको विकासका साथै आवश्यक ऐन नियम, निर्देशिका र कार्यविधि तयार पारेर कार्यान्वयन गरिएको नगरप्रमुख तिमल्सिनाले बताए ।

बैठकमा नगरसभाका सदस्यसचिव एवं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चालू आर्थिक वर्षको हालसम्मको प्रगति विवरण पेस गरेका थिए ।नमोबुद्ध नगरपालिकामा चालू आर्थिक वर्षका लागि ७२ करोड ६६ लाख ९२ हजार ६ सय ६१ रुपैयाँ विनियोजन भएकामा २५.४५ प्रतिशत अर्थात् १८ करोड ५० लाख ८ हजार ५ सय १ रुपैयाँ खर्च भएको छ ।  नगरपालिकाबाट यो वर्षका लागि १ सय ४३ वटा योजना छुट्याइएकामा अधिकांश योजनाको काम सुरु भइसकेको पौडेलले जानकारी दिए । काम सम्पन्न भएपछि मात्रै ती योजनाको रकम भुक्तानी हुने भएकाले वित्तीय प्रगति कम देखिएको उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी