हेटौंडामा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हितसंरक्षण मञ्चको संयुक्त बजार अनुगमन सुरु भएको हो ।
अनुगमनका क्रममा हेटौंडा–४, पारिजातपथस्थित दाजुभाइ फाष्टफुडलाई संयुक्त बजार अनुगमनको क्रममा उपमहानगरपालिकाले २५ हजार जरिवाना गराएको छ । चितवनको शाखाको रुपमा रहेको पारिजातपथकै वैष्णव होटललाई पनि २५ हजार नै जरिवाना गराइएको छ । यी दुई होटललाई सात दिनभित्र उपमहानगरपालिका कार्यालयमा जरिवाना तिर्न पत्र काटिएको छ ।
दाजुभाइ फाष्टफुडमा भान्सा फोहोर भएको, मःम बनाउन ल्याइएको बन्दा कुहिएको अवस्थामा अव्यवस्थितसँग राखिएकोलगायतको कमजोरी फेला परेको थियो । दाजुभाइको खोपेगल्लीमा रहेको मिठाईको भान्सामा फोहोरको ढल निकास नगरी नजिकै मिठाई बनाइरहेको अनुगमन टोलीले फेला पारेको थियो । भान्सा सुधार गर्न निर्देशन दिइएको उपमहानगरको उद्योग, पर्यटन, सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी, वैष्णव होटलले कालो ढुसी परेको पाउरोटी बिक्रीका लागि राखेको अनुगमन टोलीले फेला पारेको थियो । वैष्णवमा भान्सा सरसफाई नगरिएको, उद्योग वाणिज्य कार्यालयमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, बिक्रीका लागि राखिएका खाद्यवस्तुको लेबलिङ उपयुक्त तरिकाले नराखेको भेटिएको थियो । वैष्णव होटलले चितवनबाटै मःम लगायतका तयारी खाद्यवस्तु हेटौंडा ल्याएर बिक्री गर्ने खुलेको छ । पारिजातपथमै अनमोल होटलको भर्खरै सञ्चालनमा आएको भनिएको नयाँ होटललाई सचेत गराइएको छ ।
सरोकारवाला निकायले बजार अनुगमनलाई ‘आक्रामक’ बनाउँदै कमजोरी देखिए जरिवाना तिराइने नीति लिइएको छ । यसअघि विभिन्न निकायसँग समन्वय गरेर गर्ने बजार अनुगमन नाम मात्रैको अनुगमन हुने गरेको पाइएको उपभोक्ताहरुले नै गुनासो गर्ने गरेका थिए । अनुगमनका क्रममा व्यापारी तथा व्यवसायीलाई दिएको निर्देशन कार्यान्वयन नभएपछि नाम मात्रैको बजार अनुगमनमा सीमित हुने गरेको उपभोक्ताहरुको भनाई थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्