मकवानपुरको बागमती गाउँपालिकाले क्रसर उद्योग संचालन गर्ने भएको छ । १० असारमा आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष सर्केश घलानले यस्तो जानकारी गराएका हुन् । पालिकाका अध्यक्ष सर्केश घलानले १२ औं गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बागमती–५ मा संचालन हुने क्रसर उद्योगका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको जानकारी गराए ।

पालिकाको आन्तरिक आय वृद्धि गर्ने लक्ष्यकासाथ क्रसर उद्योग संचालन गर्न लागिएको घलानले बताए । क्रसर उद्योग पालिकाको विकासका लागि प्राथमिकता हुने उनले बताए । पालिकाभित्र बन्ने सरकारी तथा निजी क्षेत्रको भौतिक संरचना गुणस्तरीय नबन्ने गरेको सन्दर्भमा यसले मद्दत पुर्याउने उनको भनाई छ । क्रसर उद्योगबाट तयारी गिट्टी बालुवा बेच्दा मूल्य पनि बढी पाउने र त्यसको लाभ पालिका र पालिकाभित्रका जनतालाई पुग्ने उनले बताए । पालिकालाई समृद्ध र नमुना बनाउने सबैको उद्देश्य रहेको भन्दै आवश्यकताको आधारमा बजेट ल्याउने उल्लेख गरे । बजेटको सिलिङमा लगेर टुक्रे योजना बनाउनुभन्दा आवश्यकताको आधार गर्नुपर्ने घलानको भनाई छ ।

पालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधारतर्फ १३ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ४ करोड २५ लाख, सामाजिक विकासतर्फ ४ करोड २५ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड १० लाख रुपैयाँ र संस्थागत विकास, कार्यालय संचालन तथा प्रशासनिक खर्चमा ११ करोड १२ लाख रुपैयाँ गरी स्रोत अनुमानबाट ३४ करोड १२ लाख रुपैयाँ बजेट सीमा निर्धारण गरेको छ ।

पालिका प्रेस
थप जानकारी