बागमती प्रदेश सरकारले स्वास्थ्य सेवामाथि नागरिकको पहुँच वृद्धिसँगै विशिष्टीकृत सेवा सहज रूपमा प्रदान गर्न नयाँ कार्यक्रमसहित प्रयास सुरु गरेको छ । प्रदेशका नागरिकलाई प्रादेशिक अस्पतालहरूबाट गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता प्रदान गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
प्रादेशिक अस्पतालमा गएर काम गर्न प्रोत्साहित गर्न, मनोबल बढाउन, प्रादेशिक अस्पतालको सेवा स्थायित्व कायम राख्न र स्वास्थ्य सेवा प्रवाहमा थप जिम्मेवार बनाउन विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन आवश्यक भएको भन्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम ल्याएको जनाएको छ । कार्यक्रम बागमती प्रदेशको काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा सञ्चालन गरिने भएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सक दुर्गम क्षेत्रमा जानै नमान्ने र गए पनि लामो समय नबस्दा नागरिकले सामान्य स्वास्थ्य सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहेकाले पहिलो पटक विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम ल्याएको जानकारी दिए । उनले प्रादेशिक अस्पतालबाट गुणस्तरीय र विशेषज्ञ सेवा नागरिकलाई सहज रूपमा दिन कार्यव्रmम ल्याइएको बताउँदै प्रादेशिक अस्पतालमा नै विशेषज्ञ सेवा पाएपछि सङ्घीय राजधानी र महँगा अस्पतालमा सामान्य नागरिक जानुपर्ने अवस्थाको अन्त्य हुने बताए । दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम लागु भएका प्रदेशका अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन सुविधाबापत भत्ता प्रदान गरिने छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कार्यक्रम कार्यान्वयन गर्न पाँच करोड रुपियाँ विनियोजन गरेको छ ।
विशेषज्ञ चिकित्सकले प्रदेशका अस्पतालबाट सेवा प्रदान गरेको आधार दाबी आएपछि भत्ताबापतको रकम निकासा हुने छ । विशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाको दर भौगोलिक स्थान र न्यूनतम सेवा मापदण्डको अङ्कका आधारमा फरक रहेको छ । रसुवा, दोलखा र रामेछाप, यस्तै नुवाकोट, सिन्धुली, धादिङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक तथा चितवन र मकवानपुरको अर्को गरी तीन वर्गमा जिल्लालाई प्रोत्साहन सुविधा दिन जिल्लामा विभाजन गरिएको छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्