बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप फैलिदै गएको छ। करिब एक सातायता यसले मकवानपुर सदरमुकाम हेटौंडामा समेत प्रकोपको रुप लिएको हो । यो संक्रमण विशेष गरेर हेटौंडा र आसपासका क्षेत्रका बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ। विद्यालय, आँखा अस्पताल लगायत भीडभाड धेरै हुने सार्वजनिकस्थल यसको प्रमुख स्रोत बनेका छन् ।
पछिल्ला केही दिनयता आँखा पाक्ने रोग अर्थात् एक्युट कन्जन्टिभाइटिसबाट बालबालिका बढी प्रभावित भएका छन् । चिकित्सकका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण एकबाट अर्कोमा चाँडो सर्छ । पढ्नलाई विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरुबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको बताइएको छ । तर, यसको रोकथामका लागि कुनै उपाय अवलम्बन गरिएको छैन । विद्यालयदेखि सरकारसम्म मौन छन् । मानव शरीरको महत्वपूर्ण अंगमध्येको आँखा जोगाउन अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जनचेतामूलक कार्यक्रम सञ्चालन गरिएको छैन । अनियन्त्रित बनेको संक्रमण समुदायमा थप फैलन नदिन सतर्कता अपनाइएको छैन । हेटौंडा समुदायिक आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको संख्या निरन्तर बढ्दो क्रममा रहेको बताइएको छ ।
चिकित्सकका अनुसार एक्युट कन्जन्टिभाइटिस संक्रमण सामान्यतः ७ देखि १० दिनसम्म रहन्छ । तर, कसैकसैमा भने जटिल बनेर आँखाको कोर्नियामा समेत असर गर्न सक्छ । त्यसैले संक्रमण देखिनासाथ उपचार प्रक्रियामा जानुपर्ने चिकित्सकले बताएका छन् । यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ । बिरामीको परेला सुन्निने, आखाँमा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिन सक्छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्