‘तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३’ आगामी असार ३ गतेदेखि सुरु हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्ले असार ३ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी पूरा गरेको जनाएको छ । यसअघि जेठ २४ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको भए पनि आवश्यक आन्तरिक तथा प्राविधिक तयारीका कारण प्रतियोगिताको मिति परिवर्तन गरिएको थियो । परिषद्को २४ औँ बोर्ड बैठकले जेठ महिनामै प्रतियोगिता सम्पन्न गर्ने निर्णय गरेको भए पनि व्यवस्थापनलाई थप व्यवस्थित बनाउन प्रतियोगिता केही समय पछाडि सारिएको हो ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक अधिकांश तयारी सम्पन्न भइसकेको छ । परिषद्ले प्रतियोगिताको विस्तृत खेलतालिका तथा विभिन्न खेलका प्राविधिक संयोजकहरूको नामावलीसमेत सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन असार ३ गते हेटौंडामा हुनेछ भने समापन समारोह असार ९ गते आयोजना गरिनेछ । यद्यपि एथलेटिक्सतर्फका प्रतिस्पर्धा भने असार १ गतेदेखि नै हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा सुरु हुनेछन् ।

प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, पौडी, उसु, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल, जुडो तथा टेबल टेनिस गरी १५ विधाका खेल समावेश गरिएका छन् । प्रदेशका १३ जिल्लाका खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

परिषद्का अनुसार प्रतियोगितामा २ हजार ९ सय ५५ खेलाडी तथा १ हजार २ सय ६ जना अफिसियल सहभागी हुनेछन् । यसरी कुल ४ हजार १ सय ६१ जनाको प्रत्यक्ष सहभागिता रहने अनुमान गरिएको छ । अधिकांश खेलहरू हेटौंडामा सञ्चालन हुनेछन् । पुरुष तथा महिला फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल तथा टेबल टेनिसका खेलहरू हेटौंडाका विभिन्न खेलस्थलमा आयोजना गरिनेछन् । महिला क्रिकेट तथा कराँतेका प्रतिस्पर्धा चितवनमा हुनेछन् भने भलिबल, पौडी, उसु र जुडोका खेल काठमाडौं र ललितपुरका विभिन्न खेलमैदान तथा कभर्ड हलमा सञ्चालन गरिनेछन् ।

प्रतियोगितालाई प्रभावकारी र व्यवस्थित बनाउन विभिन्न खेलका अनुभवी प्राविधिक तथा खेलविज्ञलाई संयोजकको जिम्मेवारी दिइएको छ । क्रिकेटमा अनिल अधिकारी, भलिबलमा सुनिता गौतम, कराँतेमा रवि महर्जन, फुटबलमा अमृत लुङ्वा तथा एथलेटिक्समा शुक्र माझीलाई प्राविधिक नेतृत्वको जिम्मेवारी तोकिएको छ ।

खेलगत सहभागिताको तथ्यांकअनुसार एथलेटिक्समा सबैभन्दा बढी ४ सय ५५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि फुटबलमा ३ सय ६०, भलिबलमा ३ सय १२, तेक्वान्दोमा २ सय ६२, क्रिकेटमा २ सय २४, कराँतेमा २ सय १८, आइटिएफ तेक्वान्दोमा २ सय १८, बक्सिङमा १ सय ७०, उसुमा १ सय ५९, जुडोमा १ सय ३८, फुल कन्ट्याक्ट कराँतेमा १ सय ३०, ब्याडमिन्टनमा ७८, बुद्धिचालमा ७८, टेबल टेनिसमा ७८ तथा पौडीमा ७५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि बागमती प्रदेश सरकारले १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशस्तरीय खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेको यस प्रतियोगिताले प्रदेशका खेलाडीहरूको प्रतिभा विकास र खेल क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

पालिका प्रेस
थप जानकारी