जनकपुरधाम–२ स्थित पिपुल्स हेल्पफूल बचत तथा ऋण सहकारी संस्थाले निक्षेपकर्ताको रकम दिन आलटाल गरेको छ । निक्षेपकर्ताले भुक्तानी नपाएपछि सहकारीको रकम हिनामिना भएको आशंका गरिएको छ ।

मासिक ५/५ सयका दुई र मासिक एक हजार गरी तीनवटा बचत खातामा रकम जम्मा गर्दै आएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ का भैरव राउतले भुक्तानीका लागि ताकेता गर्दै आएको सुनाए । एउटा खाताको म्याद गत वैशाख र अर्कोको साउनमै सकिए पनि भुक्तानी दिन सहकारीले आलटाल गरिरहेको उनको भनाइ छ । राउतका अनुसार ताकेता गर्दा केही दिनमा दिन्छु भनेर अल्झाउने गरेका छन् । सञ्चालकहरूले बचत र ब्याजबाट संकलन भएको रकम जग्गामा लगानी गर्दा भुक्तानी पाउन नसकेको बचतकर्ताको आरोप छ ।

सहकारीमा कार्यरत एक बचत अभिकर्ताका अनुसार एक हजारभन्दा बढी ग्राहकको करिब १३ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । ६ हजारभन्दा बढी ग्राहक रहेको सहकारीले मासिक एक करोडभन्दा बढीको कारोबार गर्छ । तर, रकम हिनामिना भएको आशंकापछि कारोबार बन्द गरिएको छ । सहकारी सञ्चालकहरूले सबै रकम जग्गामा लगानी गरेर भुक्तानी गर्न आलटाल गरिरहेको ती बचत अभिकर्ताले बताए । सहकारीले जनकपुरको मुरली चोकनजिक र कर्मचारीको नाममा काठमाडौंमा समेत जग्गा किनेको थियो । जनकपुरस्थित जग्गा भने हालै बिक्री गरेको छ । सञ्चालकले घरपरिवारकै सदस्यलाई कर्मचारी बनाएर बचत रकम हिनामिना गरेको आरोप छ ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद किरणले सहकारी १२/१३ करोड रुपैयाँ नोक्सानीमा रहेकाले ग्राहकको बचत भुक्तानी दिन समस्या भएको बताए । २०६४ चैत १२ मा सहकारी स्थापना भएदेखि सञ्चालक समितिको अध्यक्ष रहेका किरणले आफू पनि नोक्सानीको रकम खोजिरहेको जानकारी दिए । नोक्सानीको कारण पत्ता लगाउन जिल्ला सहकारी संघलगायत सरोकारवाला निकायलाई पत्राचार गरेको उनले दाबी गरे । सहकारी सञ्चालनका लागि सञ्चालक समिति, ऋण प्रवाह गर्न ऋण समिति र आर्थिक समितिसमेत गठन गरिएको हुन्छ । तर, सहकारी अध्यक्ष, प्रबन्धक र क्यासियरमा सीमित थियो । पिपुल्स हेल्पफूलका तत्कालीन प्रबन्धक स्वयम्बर झा, वर्तमान निमित्त प्रबन्धक रामचन्द्र मण्डल र क्यासियर गोविन्द झा मिलेर रकम हिनामिना गरेको आरोप सञ्चालक समिति अध्यक्ष किरणले लगाए । प्रबन्धकबाट हटेका झा हालसम्म उपाध्यक्ष छन् । प्रबन्धक हुँदा झाकी पत्नी मीरा उपाध्यक्ष थिइन् ।

वर्तमान निमित्त प्रबन्धक रामचन्द्र मण्डल सञ्चालक समिति अध्यक्ष किरणको नातामा सालो पर्छन् । स्थापनाकालमा कम्प्युटर अपरेटर रहेका मण्डल हालका दिनमा सहकारीका प्रबन्धक भएर काम गर्दै आएका थिए । निमित्त प्रबन्धक मण्डल सम्पर्कविहीन छन् भने झा एक वर्षदेखि सम्पर्कमा नरहेको किरणले जनाए । आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा चार करोड रुपैयाँ नोक्सानी देखाएको किरणले बताए । गत आर्थिक वर्षको लेखापरीक्षण हुन सकेको छैन भने दुई वर्षदेखि सहकारीको वार्षिक साधारणसभा पनि ठप्प छ । सहकारीले मासिक, वार्षिक रूपमा बचत संकलन गर्दै आएको थियो भने फिक्स डिपोजिट गरेर तोकिएको ब्याजसहित एकमुष्ट रकम फिर्ता गर्ने गरेको थियो । संकलन भएको रकम फिर्ता नगरेर सञ्चालक समितिका अध्यक्षलगायत कर्मचारीहरूले जग्गा खरिद गर्दा समस्या भएको निक्षेपकर्ताको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी