राष्ट्रिय फूल लालीगुराँस संरक्षणका लागि कर्णाली प्रदेशमा स्थानीय तह र सामुदायिक वन उपभोक्ता समिति सक्रिय बनेका छन् । पर्यटकीय आकर्षणका रूपमा विकास हुँदै गएको गुराँस गाउँपालिका क्षेत्रमा गुराँस टिप्ने प्रवृत्ति बढेपछि संरक्षण अभियान तीव्र बनाइएको हो ।
करिब ३ सय ३० हेक्टरबढी क्षेत्रफलमा फैलिएको सरस्वती सामुदायिक वनमा गुराँस गाउँपालिका–४ र ५ तथा साबिक गोगनपानी गाविसका विभिन्न वडामा अवस्थित छन् । यस क्षेत्रनजिकैको भ्युटावर र यहाँको वनमा पाइने काफललगायत आकर्षणका कारण आन्तरिक तथा बाह्य पर्यटक आवागमन बढ्दो छ ।
गुराँस फुलेको मनोरम दृश्य हेर्न र यहाँका काफलको स्वाद लिन भारतका लखनऊ, नानपारा, हिमाचललगायतबाट समेत पर्यटक गुराँसकै सौन्दर्य रसपान गर्न आउने सरस्वती सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष अर्जुन चन्द बताउँछन् । पालिकाभर ४८ सामुदायिक वन क्षेत्र रहेको र १५ सय मिटर उचाइका २० सामुदायिक वन क्षेत्रमा गुराँस फुल्छन् । बाह्यभन्दा आन्तरिक पर्यटकबाट गुराँस टिप्ने प्रवृत्ति बढेपछि संरक्षणमा चुनौती थपिएको हो ।
यसलाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाइएका छन् । अध्यक्ष चन्दका अनुसार गुराँस संरक्षणका लागि ३० भन्दा बढी सचेतनामूलक बोर्ड राखिएका छन् । ‘भ्युटावर घुम्न आउनेलाई मौखिक रूपमा पनि सचेत गराइरहेका छौं, वन हेरालुसमेत राखिएको र ठाउँठाउँमा सचेतनामूलक बोर्ड र सञ्चारमाध्यमबाट सूचना जारी गरेका छौं,’ उनले भने ।

गुराँस टिप्नेलाई सचेत गराउने उद्देश्यले जरिमानासमेत तोकिएको छ । हालसम्म करिब चार हजार रुपैयाँ जरिमाना उठाइएको समितिले जनाएको छ । यस क्षेत्रमा सेतो, रातो, निलोलगायत ७ र जिल्लामा १३ प्रजातिका गुराँस पाइन्छन् । गुराँस संरक्षणका लागि स्थानीय सरकारले पनि पहल बढाएको छ । गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीका अनुसार गुराँस संरक्षणका लागि ऐन निर्माण गरी लागू गरिएको छ ।
‘गुराँस भाँच्न, काट्न र टिप्न निषेध गरिएको छ । विद्यालयमा गुराँस संरक्षणसम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरेका छौं,’ बिसी भन्छन्, ‘सुरक्षाकर्मीसँग सहकार्य गरेर निगरानी बढाएका छौं ।’ यसअघि, जिल्ला वन कार्यालय र प्रहरी परिचालन गरेर संरक्षण प्रयास गरिए पनि पछिल्ला वर्ष केही लापरवाही देखिएको बिसी सुनाउँछन् । ‘विद्यालयस्तरमै सचेतना कार्यक्रम सञ्चालन गरेका छौं ।
बाहिरबाट आउनेलाई एक–दुई वटामात्र लैजान दिनुपर्छ भन्ने सोच पनि परिवर्तन गर्नुपर्ने देखियो,’ उनले थपे, ‘स्थानीय तहले संरक्षणसँगै गुराँस प्रवर्धनमा पनि ध्यान दिएको छ । गाउँपालिका परिसरमै विभिन्न प्रजातिका गुराँस रोपिएका र हाल ती फुल्न थालेका छन् ।’ स्थानीयका अनुसार बाउबाजेको पालादेखि संरक्षण हुँदै आएको लालीगुराँस पुस्तौंसम्मका लागि जोगाइराख्न सामूहिक प्रयास आवश्यक छ ।
सामाजिक अभियन्ता तथा कर्णाली फिल्म फेस्टिभलका निर्देशक चक्रबहादुर चन्द गुराँस संरक्षणका लागि स्थानीय तहले बनाएको ऐन कडाइसाथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन् । ‘गुराँस हाम्रो राष्ट्रिय फूल भएकाले यसको संरक्षण साझा जिम्मेवारी हो,’ उनी भन्छन्, ‘जनचेतना अभावकै कारण खुला रूपमा गुराँस टिप्ने प्रवृत्ति बढिरहेको छ ।’ चन्दका अनुसार स्थानीय सरकार, प्रहरी प्रशासन र सरोकारवाला निकायले अपेक्षाकृत चासो नदिँदा आगामी पुस्ताले गुराँस देख्न नपाउने अवस्था उत्पन्न हुनसक्ने खतरा बढेको छ ।
गाउँपालिकाद्वारा जारी गुराँस संरक्षण ऐन प्रभावकारी रूपमा लागू गर्नुपर्ने उनको जोड छ । गुराँस गाउँपालिकाका स्थानीयसमेत रहेका चन्दले वर्षायाममा गुराँस रोप्नुपर्ने अभियान सञ्चालन गर्न, संरक्षणसम्बन्धी भिडियो डकुमेन्ट्री निर्माणमार्फत जनचेतना अभिवृद्धि, नगरप्रहरी गठन गरी अनुगमन र नियन्त्रण कडाइसाथ अघि बढाउन आवश्यक रहेको स्थानीय माग छ ।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्