पहिलो सहभागितामै चर्चब्वाइजले मकवानपुरको बागमती गाउँपालिकामा भएको सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार बागमती–४ स्थित सहिदस्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मछिन्द्र क्लबलाई १–० गोलले हराउँदै चर्चब्वाइजले उपाधी हात पारेको हो ।

चर्चब्वाइजको उपाधि दिलाउन समीर तामाङ नायक बने । उनले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच का तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उपाधिसँगै चर्चब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्रले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । चर्चब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधि जितेको हो । मछिन्द्रले थ्रीस्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्चब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक चर्चब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मछिन्द्रका रोशन रानामगर, फरवार्ड चर्चब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्चब्वाइजका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५÷२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । पालिका खेलकुद विकास समितिले गाउँपालिकाको खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान पु¥याएको भन्दै रेडियो झुरझुरेका स्टेसन म्यानेजर विवेक सिंतानलाई १५ हजार राशीको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहरसिं थिङको सभाध्यक्ष तथा बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फडिन्द्रकुमार तिमल्सिना, प्रमुख प्रशासकीयअधिकृत ओमबहादुर दर्जी, एन्फा केन्द्रीय सदस्य टीका लामा लगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी