बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौले हातपार्न सफल भएको छ । २० पुसमा भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौं प्रतियोगिताको च्याम्पियन बनेको हो । बागमती प्रदेश फुटबल संघ(एन्फा) को आयोजनामा भएको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत २० पुसको फाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लवले दोलखाको टाइगर टिम लाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न भएको फाइनल खेलमा काठमाडौंका लागि पहिलो हाफको २५ औं मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ७४ औं मिनेटमा बुढाथोकीले थप एक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

अन्तिम समयमा काठमाडौंका तर्फबाट आयुष कुवँरले गोल गर्दै टिमलाई ३–० को स्थितीमा पु¥याएका थिए । ३–० गोलले पछि परेको दोलखाले खेल अवधिभर कुनैपनि गोल गर्न सकेन । खेलको म्यान अफ म्याच काठमाडौंका सुजित बुढाथोकी घोषित भएका छन् । लिग विजेता काठमाडौंले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ भने उपविजेता दोलखाले १ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै काठमाडौंका सुजित बुढाथोकीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे भने प्रतियोगिता अन्तर्गत हाई स्कोररको उपाधि पनि बुढाथोकीले जिते । उत्कृष्ट गोलरक्षक काठमाडौंका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर काठमाडौंका जनक कोइराला, उत्कृष्ट मिडफिडर काठमाडौंका विज्ञान खड्का, उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी र उत्कृष्ट कोच काठमाडौंका रुपेश क्षेत्रीले प्राप्त गरे । उनीहरुले जनही ५ हजार रुपैयाँको दरले नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा प्रदेशका १३ जिल्ला मध्ये ११ जिल्लाको लिग विजेता फुटबल क्लबको सहभागिता रहेको बागमती प्रदेश फुटबल संघ(एन्फा) का महासचिव लवराज ठकुरीले बताए । रामेछाप र रसुवा भने एन्फामा आवद्ध नभएकाले लिगमा सहभागिता जनाएका थिएनन् ।

पालिका प्रेस
थप जानकारी