मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ मा रहेको चित्लाङ स्वास्थ्य चौकी नयाँ भवनमा स्थान्तरण भएको छ । ९ नम्बर वडाको माझगाउँमा रहेको स्वास्थ्य चौकी टुप्पीखेल स्थित नयाँ भवनमा स्थान्तरण गरिएको हो । भवन निर्माण सम्पन्न भएसंगै साँझेदार संस्था च्वाइस नेपालले २७ वैशाख, २०८१ मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । सो अवसरमा नवनिर्मित भवनको उद्घाटन समेत गरिएको थियो ।
भवन निर्माण भई पालिकालाई हस्तान्तरण भएपछि थाहा नगरपालिकाले नयाँ भवनबाट सेवा प्रवाह गर्नका लागि ३० साउनमा स्वास्थ्य चौकीलाई परिपत्र गरिएको थियो । स्वास्थ्य चौकी नयाँ भवनमा स्थान्तरण गर्ने क्रममा १७ भाद्रमा केही स्थानीयहरुले असहमती जनाएको भएपनि ५ असोजमा सहमती जनाइ नयाँ भवनमा स्थान्तरण गरिएको हो । नयाँ भवनबाट सेवा प्रवाह गर्ने विषयमा ३१ भाद्रमा थाहानगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली तथा नगरस्थित राजनतिक दलका प्रमुखहरु र सरोकारवालाहरुबीच नगरपालिकामा छलफल भएको थियो ।

२७ वैशाख २०८१ मा भवन उद्घाटनको अवसरमा उपस्थित अतिथीहरु ।
लामो समयदेखि चित्लाङ स्थित माझगाउँमा संचालनमा रहेको स्वास्थ्य चौकी भवन मापदण्ड अनुसार नभएकोले च्वाइस नेपालको सहयोगमा मापदण्ड अनुसार भवन निर्माण गरी स्थान्तरण गरिएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । ‘स्वास्थ्य चौकी भवन परिसर साँघुरो हुँदा, कोभिड संक्रमणका बेला निकै संकट बेहोर्नु परेको थियो, अब नयाँ भवनमा स्थान्तरण भएसंगै यस्ता आपतकालिन समयमा व्यवस्थापन सहज हुन्छ’–शाखा प्रमुख बलामीले भने ।
मापदण्डसहितको नवनिर्मित १४ कोठे स्वास्थ्य चौकी भवन निर्माणका लागि कूल २ करोड ९ हजार ४ सय ७० रुपैयाँ लागत अनुमान रहेको थियो । भवनको लागि थाहा नगरपालिकाले ५९ लाख ४ सय ७० रुपैंया लगानी गर्ने योजना रहेपनि थाहाको ५० लाख रुपैयाँ लगानी छ । स्वास्थ्य चौकीमा च्वाइस नेपालमा आवद्ध विदेशीहरुले निर्माणका बेला श्रमदान समेत गरेको च्वाइस नेपालका प्रताप घिमिरेले जानकारी दिए ।

२० माघ २०७९ को शिलान्यास कार्यक्रममा उपस्थित अतिथी तथा स्थानीयहरु ।
स्वास्थ्य चौकी स्थान्तरण भएसंगै च्वाइस नेपालले संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाउन सहयोग गर्ने भएको छ । त्यस्तै कर्मचारी र स्वास्थ्यकर्मीहरुको क्षमता विकास गरी दक्ष बनाउन आगामि वर्ष विभिन्न तालिम कार्यक्रम संचालन गर्ने योजना रहेको च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले जानकारी दिए । भवनको च्वाइस नेपाल र थाहा नगरपालिकाले निर्माण गर्ने गरी २० माघ २०७९ मा शिलान्यास गरिएको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्