अविरल वर्षाका कारण मकवानपुरको पश्चिमी क्षेत्रका ग्रामीण भेगका सडकहरु अवरुद्ध भएका छन् । मनहरी -चैनपुर सडकका आपखोल्सीलगायत विभिन्न क्षेत्रमा पहिरो गएकाले राक्सिराङ गाउँपालिकाको केन्द्र रहेको चैनपुरमा सवारी साधनहरु मंगलबारदेखि आवतजावत गर्न सकेका छैनन् ।
‘माथिबाट पहिरो झरेर सडक अवरुद्ध भएकाले मनहरी-चैनपुर सडकमा सवारी साधन चल्ने सकेका छैनन्,’ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘मनहरीबाट गाउँपालिका केन्द्र चैनपुर हिडेर पुग्नपनि पहिरोले गर्दा समस्या छ ।’
गाउँपालिकाको केन्द्र चैनपुरमा पुग्ने अर्को सडक मार्ग सिम्पानी-सरिखेत सडकको विभिन्न भागमा पनि पहिरो गएर अवरुद्ध भएको छ । पानी परिरहेकाले दुवै सडक मार्गमा माथिबाट लेदो झरिरहने भएकाले पैदल हिडन समस्या भएको अध्यक्ष मल्लले बताए ।
पानी पर्न रोकियो भने पहिरो हटाएर छिट्टै नै सडक संचालनमा ल्याउने उनको भनाइ छ । ‘पानी रोकिएन भने केही दिन सडक अवरुद्ध भइरहने अवस्था छ,’ गाउँपालिकाका एक कर्मचारीले भने, ‘पानी परिरहेको अवस्थामा पहिरो पन्छाउन जोखिमपूर्ण हुन्छ, माथिबाट पहिरो खस्ने डर हुन्छ ।’

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्