मकवानपुर थाहा नगरपालिकाले पालिका अन्तर्गत रहेका विद्यालयहरुमा रिक्त पदपूर्तिका लागि एकद्वार विधिबाट करार शिक्षक छनोट गरेको छ । छनोट गरिएका ६ शिक्षकलाई ५ विद्यालयमा २० मंसिरमा एक कार्यक्रमकाबीच विद्यालयलाई नियुक्तिको लागि सिफारिस गरेको छ ।

थाहानगर शिक्षा समितिले प्राथमिक तहका लागि छनोट गरेको शिक्षकहरु मध्ये जलदेवी प्रा.वि. थाहा–९ मा २ जना, उदय प्रावि थाहा–६, काला गणेश प्रावि थाहा–७, इन्द्रायणी मावि थाहा–८ र कल्याण प्रावि थाहा–५ मा १÷१ जना शिक्षक नियुक्तिका लागि सिफारिस गरेको हो । नगरका तीन शिक्षकले चालु आर्थिक वर्षमा स्वेच्छिक अवकाश लिएका थिए भने १ जनाको मृत्यु, १ जना सरुवाभई अन्यत्र गएको र एक रिक्त दरबन्दी रहेकोमा तिनको करार शिक्षकबाट पदपूर्तिका लागि पालिकाले सिफारिस गरेको शिक्षा शाखाले जनाएको छ ।

पालिकाले लिएको परीक्षाबाट १७ जना उतीर्ण भएका थिए । बाँकी ११ जना प्रतिक्षा सूचीमा रहेको शिक्षा शाखाका देबेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार–‘प्रतिक्षा सूचीमा रहेका शिक्षकलाई पालिका अन्तर्गतका विद्यालयमा शिक्षक रिक्त हुँदा खटाइने छ’, उनीहरुको म्यद २०७८ चैत्र मसान्तसम्म मात्र हुनेछ–कार्कीले भने ।