स्वास्थ्य निर्देशनालय हेटौंडाको सहयोगमा थाहानगरको जनकल्याण माविमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरु तथा जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो।
अभिमुखिकरण कार्यक्रमलाई थाहा नगरपालिकाका क्षयरोग मुक्त नगरपालिका घोषणा कार्यक्रमका संयोजक तथा स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, क्षयरोग फोकल पर्सन अमरेन्द्र यादवले सहजीकरण गरेका थिए ।
नेपाल सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने र सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । तर सरकारको क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य कार्यान्वयनमा नै चुनौति देखिएको छ । नेपालमा क्षयरोग जनस्वास्थ्य को प्रमुख समस्याका रूपमा देखा परेकाले पनि यो अभियान कार्यान्वयनमा चुनौती देखिएको हो । यहाँ बर्सेनि करिब ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने अनुमान गरिएको छ । महिलाभन्दा पुरुष बढी जोखिममा रहेको देखिन्छ । सरकारले क्षयरोगमुक्त नेपाल घोषणा अभियान सञ्चालन निर्देशीका २०७८ जारी गरेपनि बर्सेनि क्षयरोगका बिरामी थपिने गरेका क्षयरोग फोकल पर्सनहरुको भनाइ रहेको छ।
क्षयरोगका बिरामीहरूले लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ, तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन गर्दैनन् । अर्कातिर, सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने र रोग लुकाएर राख्ने जस्ता कारणले क्षयरोगीको संख्या घट्न सकेको छैन । एकजना संक्रमित बिरामीबाट २० जनासम्ममा क्षयरोग सर्न सक्ने सम्भावना हुन्छ । क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखिनेबित्तिकै परीक्षण गराइहाल्नुपर्नेमा त्यसो नगर्दा क्षयरोग फैलिने गरेको छ । अहिले मकवानपुर सहित देशैभर क्षयरोग चुनौतीपूर्ण देखिएको कार्यक्रममा बताइयो।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्