मकवानपुरको मनहरी गाउँपालिकाले चालू आर्थिक बर्ष अन्तर्गतको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पालिका भित्रका सुनौलो हजार दिनका चेपाङ महिलाहरुको आयआर्जनको निमित्त अनुदान रकम हस्तान्तरण गरिएको छ । गाउँपालिकाको आयोजनामा र नारीमुक्ति बचत तथा सहकारी सस्था लिमिटेड मनहरी ३ को समन्वयमा भएको कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ३, ४ र ७ का सुनौलो हजार दिनका २५ जना चेपाङ महिलाहरुलाई जनही २५ हजारका दरले रकम वितरण गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथी तथा पालिका उपाध्यक्ष सीता पुलामी मगरले चेपाङ महिला दिदी बहिनीहरु जाग्ने बेला भएको भन्दै अन्य समुदायको महिला जसरी सशक्त भएर आउनु भएको छ त्यस्तै गरि चेपाङ महिला दिदी बहिनीहरु पनि अब घर बाहिरको परिवेशमा प्रतिस्पर्धामा आउनुपर्ने बताइन् । मगरले भनिन्–‘म स्वयम् महिला हँु आज यो समाजको अभिभावकत्व ग्रहण गर्दै यहाँहरुको अगाडि रहिरहँदा यहाहरुले पनि अब कम्तिमा पनि समाजमा के भईरहेकोछ भन्ने विषयमा जानकार रहन आवश्यक छ।’

मनहरी गाउँपालिका ३ नम्बर वडाको कार्यालयमा २४ असारमा भएको कार्यक्रममा सुनौलो हजार दिनका आमाहरुलाई थोरै मात्रामा भएपनी यो रकम अनुदानले सहयोग पुग्ने उपाध्यक्ष मगरको विश्वास छ । मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मनहरी गाउँपालिका ७ नम्बर वडाका कार्यबाहक वडा अध्यक्ष नवराज सुबेदीको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी