थाहा नगरपालिकाका जनप्रतिनिधि, सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरुका बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गर्न गराउन प्रोत्साहन गर्ने भएको छ । थाहा नगरपालिकामा शैक्षिक सुधारका लागि नगरस्तरीय रोष्टर तयार गरी विज्ञहरुवाट तहगत विषयगत तथा सूचना प्रविधिमा आधारित नियमित तालिम संचालन तथा परीक्षाहरु व्यवस्थित गर्ने नगरपालिकाले जनाएको छ ।

प्रश्नपत्र निर्माण कार्यशाला आयोजना गरी प्रथम त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक परीक्षा सञ्चालनमा एकरुपता कायम गरी व्यवस्थित गर्ने, नमूना कक्षा, नमूना विद्यालय विकासमा स्थानीय तहमा जोड दिने, शिक्षकहरुको तहगत र विद्यालयगत दरबन्दी प्रोत्साहन सहित समायोजन गर्ने नगरपालिकाको नीति पारित भएको छ ।

त्यस्तै शून्य दरबन्दीमा सञ्चालित आधारभूत तह, माध्यमिक तह र १२ कक्षासम्म सञ्चालित विद्यालयहरुलाई कक्षा व्यवस्थापनका लागि आवश्यक प्रोत्साहन अनुदान व्यवस्था गरिने भएको छ ।

प्रधानाध्यापकको नियुक्ति प्रतिस्पर्धाको आधारमा गरिने र उचित पारिश्रमिक प्रोत्साहन भत्ताको व्यवस्था गर्ने नगरपालिकाको नीति छ । उत्कृष्ट सिकाइ उपलब्धि हासिल गरेका बाल विकास सहजकर्ता, कर्मचारी र शिक्षकहरुबीच अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकमा सचेतना कार्यक्रम सञ्चालन गर्ने पालिकाको नीति छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी