मकवानपुर थाहा नगरपालिकाले ५० लाख भन्दा बढी बजेटका परियोजनाहरू ठेक्का मार्फत् कार्यान्वयन गर्ने भएको छ । १० असारमा पारित आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो । पालिकाले नयाँ सडकको ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गरी हाल सञ्चालनमा रहेका सडकहरूको स्तरोन्नति गर्ने बताएको छ ।
सडकमा नगरस्तरीय बजेट विनियोजन गर्दा अन्तर वडा जोड्ने सडकहरूलाई विशेष ध्यान दिइने पारित नीतिमा उल्लेख छ । आयोजना व्यवस्थापन, अभिलेखीकरण, अनुगमन र प्रतिवेदन प्रणालीलाई व्यवस्थित गर्नका लागि सफ्टवेयरको प्रयोग गरिने पनि नीतिमा लेखिएको छ । आवश्यकतामा आधारित छोटो अवधिमा सम्पन्न गर्न सक्ने बढी प्रतिफल दिने खालका योजना छनौट गरिने पालिकाको पारित नीतिमा उल्लेख छ ।
वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुको सुरक्षाको लागि कम्पाउण्ड वाल र गेटको व्यवस्था गर्ने तथा उत्कृष्ट उपभोक्ता समितिहरुलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।
यस्तो छ पारित नीति तथा कार्यक्रमः
- आवश्यकतामा आधारित छोटो अवधिमा सम्पन्न गर्न सक्ने बढी प्रतिफल दिने खालका योजना छनौट गरिनेछ ।
- सडकमा नगरस्तरीय बजेट विनियोजन गर्दा अन्तर वडा जोड्ने सडकहरूलाई विशेष ध्यान दिइनेछ । नयाँ सडकको ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गरी हाल सञ्चालनमा रहेका सडकहरूको स्तरोन्नति गरिनेछ ।
- मुख्य सडकबाट सबै वडा कार्यालयहरूमा पुग्ने सहायक सडकहरू पक्की सडकमा विस्तार गरिनेछ । साथै, सडकहरुको निर्माण गर्दा सडकका मापदण्डलाई पूर्ण रुपमा लागू गर्ने नीति अवलम्बन गरिनेछ ।
- सार्वजनिक–निजी साझेदारी अवधारणाबाट सञ्चालन हुने आयोजनाका लागि आवश्यक समपुरक कोषको व्यवस्था गरी स्रोतको सुनिश्चितता गरिनेछ ।
- ५० लाख भन्दा बढी बजेटका परियोजनाहरू ठेक्का मार्फत् कार्यान्वयन गर्ने नीति अवलम्बन गरिनेछ । आयोजना व्यवस्थापन, अभिलेखीकरण, अनुगमन र प्रतिवेदन प्रणालीलाई व्यवस्थित गर्नका लागि सफ्टवेयरको प्रयोग गरिनेछ ।
- योजनाहरू कार्यान्वयन गर्दा मानव, विकास र वातावरण बीचको सन्तुलन कायम हुने अवधारणा बमोजिम दिगो विकास लक्ष्यसँग आवद्ध गरी अपेक्षित उपलब्धि हासिल गरिनेछ ।
- नगरपालिकाले योजना तर्जुमा, कार्यान्वयन, सञ्चालन र लाभको वितरण गर्दा समावेशी र सन्तुलित विकास नीति अवलम्बन गरिनेछ ।
- वस्तुगत र तथ्यगत सूचकहरूको विकास गरी परियोजनाको गुणस्तर बढाउन अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाइनेछ । साथै, आयोजनाको गुणस्तर परीक्षणको लागि आवश्यक उपकरणको व्यवस्था गरिनेछ ।
- वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुको सुरक्षाको लागि कम्पाउण्ड वाल र गेटको व्यवस्था गरिनेछ ।
- उत्कृष्ट उपभोक्ता समितिहरुलाई प्रोत्साहन गरिनेछ ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्