मकवानपुरको थाहा नगरपालिका वडा नम्बर २, ३ र ४ लाई घरमा सुत्केरी शुन्य वडा घोषणा गरिएको छ । थाहानगरका सबै वडामा गर्भवती महिलाहरुलाई पूर्ण संस्थागत सुत्केरी गराउने अभियान स्वरुप स्वास्थ्य कार्यालय मकवानपुरको प्रमाणिकरण पश्चात् २२ जेठमा थाहा नगरपालिकाको ३ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले वडाहरुलाई पूर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरेका हुन् । बागमती प्रदेशमै पहिलो पटक २०७६ सालमा ६ नम्बर वडालाई पहिलो संस्थागत सुत्केरी वडा घोषणा गरेको थाहा नगरले कोभिड–१९ को संक्रमण जोखिमका बखत प्रमाणीकरण भएका वडा पनि घोषणा गर्न सकेको थिएन । यसअघि २७ वैशाखमा वडा नम्बर ९ र १० चित्लाङलाई थाहा नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो ।

थाहा नगरपालिकाको पालुङ जेसिज सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख विष्टले पूर्ण संस्थागत सुत्केरी अभियानमा खटिनू भएका सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई धन्यवाद दिए । आधारभूत आवश्यकता अन्तर्गत स्वास्थ्य सेवा रहेको हुँदा पालिकाले यस कार्यमा डटेर सहयोग गर्ने बताए । प्रमुख विष्टले आम नागरिकको स्वास्थ्यसंग जोडिएको यस अभियानलाई प्राथमिकताको साथ काम गर्ने बताए । उनले घोषणासंगै यसको निरन्तरताका लागि चुनौति थपिएको बताए । वि.सं. २०७६ सालबाट शुरु गरिएको पूर्ण संस्थागत सुत्केरी अभियानलाई कार्यान्वयन गर्दै नगर घोषणा छिट्टै गर्ने गरी अघि बढ्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । उनले भने–‘यसका लागि नगरपालिकाको तर्फबाट सहयोग हुन्छ ।’

नगर उपप्रमुख भरत गोपालीले आमा र बालबालिकासंग जोडिएको संस्थागत सुत्केरी अभियानलाई सबै मिलेर सफल बनाउनु पर्ने बताए । उनले स्वास्थ्यकर्मी तथा यस कार्यमा खटिने सबैलाई धन्यवाद दिदै कामको प्रशंसा गरे । प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै घोषणा अभियानमा सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा ३ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणामा योगदान पु¥याउने ३ वटा स्वास्थ्य संस्था र ७ जना कर्मचारीहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्र तथा उक्त संस्थामा कार्यरत सिअनमी इनिलकुमारी राई, अनमी संजिता मोक्तान, अनमी आरती बर्तौला र अनमी कमला अधिकारीलाई सम्मान गरिएको हो । त्यसैगरी पालुङ प्राथमिक स्वास्थ्य केन्द्र र उक्त संस्थाकी सिअनमी सुशीला श्रेष्ठ, सिअनमी दुर्गा ढकाल तथा दामन शहरी स्वास्थ्य केन्द्र र उक्त संस्थाकी अनमी मनिता घिमिरेलाई नगरपालिकाले कदरपत्र सहित सम्मान गरेको हो ।

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शक्ति चौरसिया, पालुङ स्वासथ्य चौकीकी अहेब सुमित्रा विडारी र दामन शहरी स्वास्थ्य केन्द्रकी अनमी मनिता घिमिरेले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने क्रममा गरिएको कार्य तथा प्रगतीको तथ्याङ्कीय विवरण प्रस्तुतिकरण गरेका थिए । थाहा नगरपालिका ४ नम्बर वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र पालुङका अध्यक्ष नारायण लामाको सभाध्यक्षतामा भएको घोषणा कार्यक्रममा अतिथी तथा सहभागीहरुलाई घोषणा सम्मको अवस्थामा आइपुग्न गरिएको कामको सम्बन्धमा जानकारी गराउँदै थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामले स्वागत गरेका थिए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल, थाहा नगरपालिका ३ नम्बर वडा अध्यक्ष तथा वन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक हिरेन्द्र कुमार रायमाझी, कृषि शाखा प्रमुख संजय तिवारी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक कुमार नेगी, नेपाली काँग्रेस थाहानगर सभापति प्रमोद कृष्ण जोशी, नेकपा एमाले नगर सचिब रामकृष्ण बस्नेतलगायत स्वास्थ्यकर्मी तथा स्थानीइहरुको उल्लेख्य सहभागिता रहेको थियो । संस्थागत सुत्केरी वडा घोषणासंगै बालमैत्री पालिका घोषणा अभियानमा जुटेको थाहानगरलाई सूचक पूरा गर्न थप मद्दत मिलेको छ ।

पालिका प्रेस
थप जानकारी