- प्रदेश सञ्चारबाट
‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ स्थानीय सरकारको सेवा घरघरमै पु¥याइरहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले सेवाको निरन्तरताको क्रममा सोमबार ९ नम्बर वडाबासीलाई एकीकृत सेवा प्रदान गरेको छ ।
राक्सिराङ ९ स्थित डन्टारमा एक शिविरको आयोजना गर्दै गाउँपालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा उपलब्ध गराइएको थियो । सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यका साथ गाउँपालिकाले गाउँटोलमै पुगी सेवा सञ्चालन गरिरहेको छ ।
गाउँपालिकाले एकीकृत शिविरमार्फत घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा पैदान गरिरहेको छ सोमबार एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा र निशुल्क औषधि वितरण गरिएको थियो । साथै सोही स्थानबाट स्थानीयलाई तरकारीका बिउ वितरणका साथै पशुका रोगविरुद्धको औषधिसमेत निशुल्क उपलब्ध गराइएको थियो । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको टोलीले गाउँघरमै पुगी घुम्ती शिविरमार्फत सेवा प्रदान गरेपछि स्थानीय खुसी बनेका छन् ।
ज्येष्ठ नागरिक तथा अशक्त तथा हिँड्न नसक्ने बिरामीहरुको घरघरमै पुगी स्वास्थ्य जाँच र निशुल्क औषधिकोसमेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । ‘आमाबुबा बचाउ कार्यक्रम’ सञ्चालन गरी विगतका वर्षहरुदेखि नै असक्त, अपाङ्ग र ज्येष्ठ नागरिकलाई गाउँटोलमै स्वास्थ्य सेवा प्रदान गरिरहेको गाउँपालिकाले अन्य विविध सेवाहरु पनि गाउँ टोलसम्मै विस्तार गर्दै लगिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेको थियो ।

शिविरमा ३५७ जनाको निशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएकोमा ९ जना बिरामीलाई घरमै पुगी उपचार गरिएको थियो । २८ जना गर्भवतीको भिडियो एक्सरेमार्फत गर्भ जाँच गरिएकोमा ६० जना सुत्केरी तथा गर्भवतीलाई पोषण पीठो वितरण गरिएको थियो । क्षयरोग परीक्षणको लागि १० जनाको खकार नमूना संकलनसमेत गरिएको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले जानकारी दिए ।
एकीकृत शिविरमै व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो । ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरु घरघरमै पुगी पोषिलो आहार तथा उपयोगी सामाग्रीहरुसमेत हस्तान्तरण गरेका थिए ।

पशु सेवातर्फ गाई भैंसी, बाख्रा कुखुराका औषधिहरु र कृषितर्फ ७ थरीका तरकारीका बिउहरु निशुल्क वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक कृष्ण डुम्रेले बताए । यसअघि ४ नम्बर वडामा एकीकृत शिविर सञ्चालन गरिसकेको गाउँपालिकाले चैत १४ गते ६, ७ र ८ नम्बर वडाका लागि राक्सिराङ ७ स्थित जुरेथुममा कार्यक्रम राखेको छ भने वडा नम्बर १ र २ का लागि राक्सिराङ १ दुङ्गुमा एकीकृत शिविरको कार्यक्रम तय गरिएको छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्