- पुस्कल गोले सागर
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एमालेका उम्मेदवार देव कृष्ण पुडासैनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । १ जेठ राती सम्पन्न मतगणना अनुसार पुडासैनी ३ हजार ७२२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वलाल लामालाई २ सय ५० मतान्तरले पराजित गरेका हुन् । पराजित लामाले ३ हजार४७२ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा झिनो मतान्तरसहित कांग्रेसका निर्मला रुम्बालाई पाखा लगाउँदै एमालेका उमाकुमारी लामाले विजयी भइन् । उपाध्यक्ष पदका विजेता लामाले ३ हजार ७२५ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका रुम्बाको ३ हजार ६५६ मत ल्याए । यी दुई बिचको मतान्तर जम्मा ६९ मत मात्र रहेको छ । उपाध्यक्ष पदमा विजेता लामाको यो पुनरागमन हो । उनी यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष हुन् । ०७४ को निर्वाचनमा पनि उनले नेपाली कांग्रेसका लक्ष्मी डंगोललाई पराजित गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएकी थिईन् ।
यस्तै पालिकाको ५ नम्बर वडामा नेपाली कांग्रेसका दुतराज तितुङले भारी मतान्तर सहित नेकपा एकीकृत समाजवादीका रामकृष्ण कार्कीलाई पराजित गरे । कांग्रेसका तितुङले ८ सय १७ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार कार्की ३ सय ३० मतमा सीमित भए । यस्तै नेकपा एमालेका राजु लामा २ सय ९५ मतमा सीमित रहे ।
गाउँपालिकाको समग्र मत परिणाम अनुसार कुल २७ सिटका लागि भएको यो निर्वाचनमा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष र १ जना दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित सहित १३ सिट र नेपाली कांग्रेसले ३ वटा वडामा प्यानल सहित जित्दा १३ र नेकपा एकीकृत समाजवादी (एस)ले दलित महिला सदस्य १ सिटमा विजय हासिल गरेका छन् ।
यसअघि को स्थानीय तह निर्वाचनमा नेकपा एमालेको स्पष्ट बहुमत आएको इन्द्रसरोवर गाउँपालिकामा यसपाली चुनावी समीकरण फेरिएको हो । प्रत्यक्ष निर्वाचित सिटमा नेपाली कांग्रेस र एमाले बरावरी सिटमा रहँदा कार्यपालिका गठनमा १ सीट पाएको नेकपा एस निर्णायक हुने छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्