जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सभ्य समाज निर्माणका लागि बालअधिकारको संरक्षण हुनु पर्ने बताएका छन् । स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धी तीन दिवशीय जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको ५ पुसमा हेटौंडामा उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले सुन्दर, समुन्नत र सभ्य समाज निर्माणका लागि बालअधिकारको संरक्षण हुनु पर्नेमा जोड दिए ।
प्रमुख खुलालले सामाजिक क्षेत्रको विकास विना समुन्त र समृद्ध समाज निर्माण हुन नसक्ने उनको भनाई थियो । उनले भने –“भोलिका समाजका कर्णधार बालबालिका साझा भविष्य हुन र उनीहरूको स्वतन्त्रता, अधिकार, संरक्षण, विकास र जीवनस्तर सुधारका साथै को लागि सामूहिक प्रतिवद्धता र साझा प्रयास आवश्यक छ ।” उनले बालबालिको अधिकार संरक्षणका लागि तिनै तहको सरकार लगायत सबै नागरिकको सक्रियता एवम् सामूहिक प्रतिवद्धता र साझा प्रयास आवश्यक रहेको बताए । सबै क्षेत्रको विकासका लागि बालअधिकारको संरक्षण आवश्यक रहेकोले बाल अधिकारको संरक्षणका लागि सबैले काम गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले हरेक क्षेत्रबाट बालबालिकाका प्राथमिक सवालहरु सम्बोधन हुन आवश्यक रहेको बताइन् । उनले लैंगिक समतासंगै बालबालिकाले बाच्न पाउने, सहभागी हुन पाउने, सबै क्षेत्रमा भेदभाव रहित र बाल मैत्रीपुर्ण क्रियाकलाप संचालन गर्नु आवश्यक रहेको बताइन् ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजना एवम् राष्ट्रिय बाल अधिकार परिषदको समन्वय तथा सहजिकरणमा भएको कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका उपप्रमुखहरु, महिला तथा बालबालिका शाखा प्रमुखहरु, बालबालिका हेर्ने संयोजक, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख र न्यायिक समितिका सहजकर्ताहरुको सहभागिता रहेको छ । तीन दिन सम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा बाल अधिकार परिषदका बालबालिका विज्ञ, कानु अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का राममणि गौतम, कपिल अर्याल, जग्गनाथ सुवेदीलगायतले सहजिकरण गरिरहेका छन् ।

























































प्रतिक्रिया दिनुहोस्