नेकपा एमाले थाहानगरको पालिका चुनाव लक्षित प्रतिवद्धता–पत्र सार्वजनिक भएको छ । एमाले थाहानगरले विभिन्न १३ विषय केन्द्रित प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
यातायात, पदमार्ग तथा भौतिक पूर्वाधार विषय केन्द्रित प्रतिवद्धतामा एमालेले काठमाडौंको भगिनी सहरको रुपमा थाहानगरलाई विकास गर्ने उल्लेख गरेको छ । निर्माणाधिन चित्लाङ–थानकोट सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि विशेष पहल गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिने नगर प्रमुखका उमेद्वार अच्युतम प्रसाद ढकालले बताए ।

थाहा नगरपालिकाका सबै वडाका प्रत्येक टोलहरुमा सडक सञ्जाल पु¥याउने योजनालाई एमाले थाहानगरले शुरुमै प्रतिवद्धता जनाएको छ । हाल सडक निर्माण भईसकेका सडकहरुलाई ५ वर्षभित्र कालोपत्रे तथा ढलान गर्ने समेत एमालेको योजना रहेको उमेद्वार ढकालले सुनाए ।

नगरको सडक यातायात निर्माणका लागि सम्भव नभएका पर्यटकीय गन्तव्यहरुसम्म पुग्ने आराम स्थलहरुको व्यवस्थासहित पदमार्गहरुको निर्माण गर्ने एमाले थाहानगरको प्रतिवद्धता छ । थाहा नगरपालिका वडा नम्बर ४ नार्खुढाँडमा निर्माणाधीन थाहा बसपार्कलाई तुरुन्त सञ्चालनमा ल्याउने एमालको योजना उमेद्वार ढकालको भनाइ छ । बसपार्कको स्तरोन्नति तथा थप संरचना निर्माण कार्यलाई पनि प्राथमिकता दिइने प्रतिवद्धता पत्रमा भनिएको छ ।

चन्द्रागिरी हिल स्टेशनदेखि शुरु हुने साइकल लेन तथा पदमार्ग निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भइसकेको उल्लेख गर्दै निर्माण कार्यान्वयनमा जोड दिने थाहानगर एमालेको योजना छ । थाहानगरबाट काठमाण्डौँ जोड्ने सबैभन्दा छोटो दुरीको चित्लाङ—चन्द्रागिरी—थानकोट सडक (गणेशमान सिंह मार्ग)को नियमित स्तरोन्नतिका लागि पहल गर्ने, त्रिभुवन राजपथको स्तरोन्नतिका लागि विशेष पहल गर्ने पनि योजनामा समेटिएको छ ।

नगरभित्र भौतिक संरचनाहरु निर्माण गर्दा वातावरणीय तथा पर्यावरणीय विषयलाई विशेष ध्यान दिइने एमाले थाहानगरले बताएको छ । वडाहरुमा सामुदायिक भवन निर्माणका कार्यक्रमहरु सञ्चालन गरिने र नगरस्तरमा एक हजार बढी सिट क्षमतासहितको सम्मेलन भवनको निर्माण गरिने एमाले थाहानगरको योजना छ । हालको जेसीज सभा हललाई थप व्यवस्थित गरिने एमालेले सार्वजनिक गरेका प्रतिवद्धता पत्रमा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी