थाहा नगरपालिका–१ खानीगाउँस्थित कालिकादेवी प्राथमिक विद्यालयमा नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । स्थानीय स्रोत–साधनको प्रयोग गरी निर्माण गरिएको वातावरणमैत्री चारकोठे भवनसहित दुईकोठे पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक अमृत तामाङकाअनुसार बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ३० लाख रुपैयाँ लागतमा दुईकोठे पक्की भवन निर्माण गरिएको हो । त्यसैगरी किड्स अफ काठमाडौँ र फाउन्डेसन हेयर्सको आर्थिक तथा प्राविधिक सहयोगमा करिब एक करोड रुपैयाँ लागतमा शौचालयसहितको चारकोठे वातावरणमैत्री भवन निर्माण गरिएको हो । वातावरणमैत्री चारकोठे भवन ¥याम्ड अर्थ प्रविधि प्रयोग गरी निर्माण गरिएको छ । भवन निर्माणमा स्थानीय माटो, बालुवा, ढुंगाक्रसिङलगायतका सामग्री प्रयोग गरिएको विद्यालयले जनाएको छ । स्थानीय स्रोत–साधनको अधिकतम प्रयोग हुने भएकाले ¥याम्ड अर्थ प्रविधिलाई वातावरणमैत्री, दिगो र टिकाउ निर्माण विधिकारुपमा लिइन्छ । विद्यालयका अनुसार आवश्यक परेको अवस्थामा वातावरणमैत्री भवनलाई आश्रयस्थल (सेल्टर हाउस) का रुपमा समेत प्रयोग गर्न सकिनेछ । नयाँ भवन निर्माण भएपछि विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र सहज सिकाइ वातावरण तयार हुने अपेक्षा गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठसदस्य गौतम लोको अध्यक्षता एवम् बागमती प्रदेशसभा सदस्य एवं पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भवन हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगरप्रमुख विष्णुबहादुर बिष्ट, फाउन्डेसन हेयर्सका प्रतिनिधि एन्ड्र्युड तथा किड्स अफ काठमाडौँका बाबुराम गोले विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए । कार्यक्रममा शिक्षा शाखाका अधिकृत सूर्यबहादुर थिङ, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपालीलगायतको उपस्थिति थियो । प्रमुखअतिथि मोक्तानले विद्यालयको भौतिक पूर्वाधारमा गरिएको लगानीले शिक्षाको गुणस्तर सुधारमा दीर्घकालीन योगदान पु¥याउने बताइन् । विद्यालयमा आवश्यक भौतिक संरचना निर्माणसँगै विद्यार्थीले सुरक्षित र गुणस्तरीय वातावरणमा अध्ययन गर्ने अवसर पाउने उनको भनाई थियो । नगरप्रमुख बिष्टले नवनिर्मित भवनले विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित सिकाइ वातावरण निर्माणमा सहयोग पुग्ने बताए । स्थानीय तह, दाता संस्था र समुदायबीचको सहकार्यबाट शैक्षिक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उनले बताए ।

किड्स अफ काठमाडौँका गोलेले स्थानीय स्रोत–साधनको प्रयोगबाट पनि आधुनिक, सुरक्षित र टिकाउ विद्यालय भवन निर्माण गर्न सकिने बताए । फाउन्डेसन हेयर्सका प्रतिनिधि एन्ड्र्युडले स्थानीय आवश्यकता र वातावरणलाई ध्यानमा राखेर भवन निर्माण गरिएको जानकारी दिए । कार्यक्रममा किड्स अफ काठमाडौँ र फाउन्डेसन हेयर्सले वातावरणमैत्री विद्यालय निर्माण अभियानअन्तर्गत् देशका विभिन्न स्थानमा हालसम्म १३ वटा विद्यालय भवन निर्माण गरेको जानकारी दिइएको थियो । भवन हस्तान्तरणका क्रममा संस्थाका प्रतिनिधिले नवनिर्मित विद्यालय भवनको साँचो थाहा नगरपालिकालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । कुन्छाल महिला बाँसुरी समूहको प्रस्तुति तथा तामाङ झाँक्री नाच प्रस्तुत गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी