मकवानपुरको बकैया गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराइने भएको छ । बकैया गाउँपालिकाको कार्यालयले पालिकामा कार्यरत कर्मचारी तथा पालिका स्वरोजगारमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउने भएको हो ।

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिका र अन्तर्गतका कार्यालयमा कार्यरत अस्थायी करारका कर्मचारीसँगै अनौपारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए । कार्यक्रम चालू वर्ष २०८२/०८३ भित्रै कार्यान्वयनमा ल्याउन बजेट विनियोजन गरेको उनले बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम कार्यान्वयन गर्ने बकैया गाउँपालिका जिल्लाको तेस्रो हुने पालिका हुने छ । यसअघि भीमफेदी गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरी कार्यान्वयनमा ल्याएको छ । त्यस्तै गरी इन्द्रसरोवर गाउँपलिकाले गत माघमा सामाजिक सामाजिक सुरक्षा कोषसँग सम्झौता गरी कार्यान्वयन सुरु गरेको छ ।

बकैया गाउँपालिकाका रोजगार संयोजक रामचन्द्र खड्काले यसका लागि चालु आवमा ४० लाख रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो । पलिकामा अस्थायी र करारमा कार्यरत १०३ कर्मचारीलाई कार्यक्रममा आवद्ध गराउने प्रक्रिया अन्तिमचरणमा पुगेको छ । पालिकामा अस्थायी र करारमा कार्यरत कर्मचारीले खाइपाइ आएको तलबको ६० प्रतिशतलाई सय प्रतिशत मानेर कर्मचारीले ११ प्रतिशत र पालिकाको तर्फबाट २० प्रतिशत प्रतिशत बेहोरिने छ । संयोजक खड्काले अनौपचारिकक्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई कार्यक्रममा सहभागिताका लागि सार्वजनिक रूपमा आव्हान गरिएको बताए ।

पालिका प्रेस
थप जानकारी