मकवानपुरगढी गाउँपालिकाले पाडापाडी संरक्षण तथा प्रवद्र्धनमा विशेष प्राथमिकता दिएको छ । दूध र मासु उत्पादन वृद्धिमा पाडापाडीको भूमिका महत्वपूर्ण रहने निष्कर्षसहित पालिकाले यस क्षेत्रमा सक्रिय किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपालनका विविध कार्यक्रममार्फत सहयोग गर्दै आएको पालिकाले चालु आर्थिक वर्षका लागि ‘पाडापाडी पालन प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत बजेट विनियोजन गरी प्रस्ताव आह्वान गरेको छ ।

प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँ सशर्त अनुदानमार्फत कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछानेले जानकारी दिए । उनका अनुसार विशेषगरी वडा नं. ५ का किसान, उद्यमी, सहकारी तथा निजी फर्मलाई लक्षित गरी कार्यक्रम अघि बढाइएको हो । छनोटमा परेका निजी फर्म वा समूहले ५० प्रतिशत लागत साझेदारीमा अधिकतम १ लाख रुपैयाँसम्म अनुदान पाउने व्यवस्था गरिएको छ ।

पाडापाडी संरक्षण र व्यावसायिक पालनमा रुचि राख्ने कृषकका लागि फागुन २७ गते सूचना प्रकाशित गरिएको थियो भने चैत्र ३ गतेसम्म प्राप्त प्रस्तावमाथि हाल छलफल भइरहेको पशु तथा मत्स्य विकास शाखा प्रमुख सत्यनारायण साहले बताए । प्रस्ताव पेश गर्दा नागरिकताको प्रतिलिपि, फर्म दर्ता तथा नवीकरण प्रमाणपत्र, कार्ययोजना, तालिम वा अनुभवको प्रमाण र वडा कार्यालयको सिफारिसलगायतका कागजात अनिवार्य गरिएको छ ।

यस कार्यक्रममार्फत पशुपालन क्षेत्रको आधुनिकीकरण गर्दै किसानको आर्थिक स्तर उकास्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानले बताएका छन् ।

पालिका प्रेस
थप जानकारी