मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर बिष्टले सहकारी क्षेत्र स्थानीय आर्थिक विकासको महत्वपूर्ण आधार भएको बताएका छन् । सहकारी संस्थाले कम आर्थिक स्रोत भएका नागरिकलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउन आर्थिक सशक्तीकरणको काम गर्नुपर्ने बताए । ६९औं सहकारी दिवसको अवसरमा २० चैत्रमा पालुङ जेसिज सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख विष्टले यस्तो बताएका हुन् । उनले एकाद् सहकारी संस्थाले गरेको बेइमानीले राम्रो काम गर्ने संस्थालाई पनि उही नजरले हेरिनू दुःखद् भएको बताए । ‘समग्र सहकारीको सशक्तीकरण, डिजिटाइजेशन लगायतको काममा बजेट विनियोजन गर्दै आएका छौं, नागरिकसँग प्रत्येक्ष सरोकार राख्ने सहकारीलाई सशक्तिकरण सवलीकरणमा नगरले सहयोग गर्छ’–विष्टले भने ।
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले नगर क्षेत्रका सहकारी संस्था कसैलाई पनि कारबाही गर्न नपर्ने गरी काम गरिदिन सुझाए । ‘सहकारीहरुले ऐन, कानूनमा आधारित भएर काम गरे कारबाहीमा पनि परिँदैन, नागरिकको मन पनि जितिन्छ’–प्रशासकीय अधिकृत पौडेलले भने । नेपाल सरकारको तीनखम्बे अर्थनीतिमा सहकारी पनि एक भएकाले नगरपालिका सहयोग र सहकार्य गर्न सँधै तयार रहेको पौडेलको धारणा रहेको थियो । उनले यसवर्षको सहकारी दिवसको नारा “उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता” उल्लेख गर्दै यसको मर्म सम्झेर सेवा दिन आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर विष्टले आफ्नो सहकारीले नागरिकलाई पु¥याएको सहयोग र आर्थिक सवलीकरण सम्बन्धमा चर्चा गरे । विष्टले सहकारी संस्था कुनै सानो वा ठूलो भन्दापनि नागरिकमा पु¥याएको सेवा महत्वपूर्ण हुने बताए । उनले नगरका सबै सहकारी संस्थाको सहकार्यमा थाहा कालाभैरब चौरमा निर्माणाधिन शीतभण्डार सञ्चालनको तयारीमा रहेको प्रसंग समेत अन्तरक्रियामा जानकारी गराए । ‘कतिपय सहकारी संस्थाले शीतभण्डारका गर्नुपर्ने लगानीका लागि साँझेदारी रकममा जम्मा गर्न आनाकानी गरिरहेका छन्’–अध्यक्ष विष्टले भने–‘लगानीका लागि ढोका बन्द भैसकेको छैन, आउनुहोस सहकार्य गरौं ।’

सुखी भविष्य सहकारी स.स्था लिमिटेडका अध्यक्ष सुरेन्द्रमान प्रधानले नगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्रका सहकारीको सशक्तीकरण र समन्वयमा सहयोग गर्न आग्रह गरे । स्थानीय रोजगार र आर्थिक विकासमा सहयोग पु¥याउँदै आएका सहकारीहरुलाई नगरपालिकाले सहयोग र निगरानी सँगैसँगै गर्नुपर्ने बताए । प्रधानले नगरका निष्क्रीय सहकारी संस्थालाई सक्रिय गराउन र विधिमा सहकारी संचालन गर्नका लागि अनुगमन पनि महत्वपूर्ण हुने बताए ।

नगर प्रमुख विष्णु बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा ५ नम्बर वडाध्यक्ष विष्णु बहादुर गुरुङ, लालीगुराँस महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष रिता प्रधान, नगरभित्र रहेका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।


















































पालिका प्रेस 



















प्रतिक्रिया दिनुहोस्