बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान तथा मूल्यांकन सम्पन्न गरेसँगै बजेटको प्रारम्भिक खाका तयार भएको हो।
प्रारम्भिक आकलनअनुसार आगामी वर्षको बजेट चालु वर्षको तुलनामा करिब १७ अर्ब रुपैयाँ (२५.८९ प्रतिशत) ले घट्ने देखिएको छ । यससँगै बजेट करिब ५० अर्ब रुपैयाँ हाराहारीमा सीमित हुने अनुमान गरिएको छ, जबकि चालु वर्षमा ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट कार्यान्वयनमा छ । राजस्व संरचनामा राजस्व बाँडफाँटबाट ३० अर्ब ८९ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ, जुन कुल बजेटको आधाभन्दा बढी हो। संघीय अनुदान १३ अर्ब ८१ करोड रुपैयाँमा सीमित हुने र आन्तरिक आय ४ अर्ब १२ करोड रुपैयाँ मात्रै रहने प्रक्षेपण गरिएको छ।
मन्त्री प्रभात तामाङका अनुसार चालु आवपछि करिब ५ अर्ब रुपैयाँ मात्र नगद मौज्दात रहनेछ। जेनजी आन्दोलन, विपद् व्यवस्थापन खर्च र निर्वाचनले राजस्व संकलनमा असर पारेको तथा संघीय अनुदान कटौतीले बजेटमा थप दबाब परेको उनले बताए। खर्च हुन नसकेको २ अर्ब रुपैयाँभन्दा बढी अनुदान फिर्ता गर्नुपर्ने अवस्थाले पनि स्रोत संकुचन बढाएको छ।
यस परिस्थितिमा प्रदेश सरकारले आगामी बजेटलाई यथार्थपरक र प्राथमिकतामा केन्द्रित बनाउने तयारी गरेको छ। मन्त्रालयले छिट्टै विभागीय मन्त्रालयहरूलाई घटाइएको बजेट सिलिङ पठाउने तयारीसमेत गरेको छ।

















































पालिका प्रेस 


















प्रतिक्रिया दिनुहोस्